नदी दोहनमा स्थानीय सरकारहरू अग्रसर: पानीको मुहान सुक्दै, बकेया पुल धरापमा
नियमन गर्न जिसस असफल
संजय तिवारी
आइत, बैशाख २८, २०८२ | १६:०९ बजे

बारा । बाराका स्थानीय सरकारहरु नदी दोहनमा अग्रसर हुँदा पानीका मुहानहरू सुक्न थालेका छन् । समयमै पानी नपर्दा अवस्था अझैँ विकराल हुँदैछ ।
बकेया, दुधौरा, बालगंगा लगायतका नदी तथा खोलाहरूमा स्थानीय पालिकाहरूले मापदण्डभन्दा बढी मात्रामा बालुवा–गिट्टी उत्खनन गराउँदा खोला दोहन उच्च बिन्दुमा पुगेको हो ।

नदी–खोला दोहनले पानीका मुहानहरू हराउन थालेका छन् । बाराको दक्षिणी भेगमा चापाकलहरु सुक्न थालेका छन् । स–साना ताल–तलैया र पैनीहरू पनि पानी नपलाएका कारण सुकेका छन् ।
अप्राकृतिक रूपले नदी दोहन हुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढस्थित बकेया पुल भासिने जोखिम बढेको छ । दशकौँ पुरानो पुलको पिलरहरू भासिने अवस्थामा छन् । पुलका उत्तर–दक्षिण दुवैतर्फ करिब १ किलोमिटरको दूरीमा निजगढ र कोल्हवी नगरपालिकाले गिट्टी–बालुवा उत्खनन गर्ने ठेक्का लगाएपछि बीचमा रहेको पुल छेउका डिल भासिन थालेका छन् भने पुलका पिलर छेउछाउमा गहिरो खाडल परेको छ ।

नदी दोहनको व्यापक जनगुनासो बढेपछि जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको नेतृत्वमा गएको टोलीले मापदण्डभन्दा बढी खोला उत्खनन भएको बताएको छ । पालिकाहरूले ठेक्का लगाएको भन्दा अत्यधिक बढी मात्रामा खोला उत्खनन गरेको देखिएकोले त्यसको नाप जोख गर्न निर्देशन दिएको प्रमुख साहले जानकारी दिए । ‘हामी प्राविधिक टिम खटाएर नापजाँच गर्ने छौँ’, प्रमुख साहले भने, ‘मापदण्ड विपरीत भएको पाइए तुरुन्तै रोक्ने छौँ ।’

प्राप्त जानकारी अनुसार निजगढ नगरपालिकाले आर्थिक वर्ष २०८१\८२ को ज्येष्ठ मसान्तसम्म श्री गणेश सप्लायर्सलाई १ करोड ३ लाख घनफिट बकेया खोला उत्खनन गर्न टेन्डर दिएको छ । तर, अनुगमनको क्रममा ठेक्काको म्याद सकिन अझैँ एक महिनाभन्दा बढी समय बाँकी रहँदा ३ गुणा बढी नदी उत्खनन भएको अनुमान गरिएको छ ।

उता कोल्हवी नगरपालिकाले सोही खोलालाई ८० लाख घनफिट उत्खनन गर्न महागौरी सप्लायर्सलाई टेन्डर दिएको छ । ठेक्का बमोजिम १ महिना पहिल्यै ७५ प्रतिशत खोला उत्खनन भइसकेको प्रतिवेदन जिसस बारामा आएको छ । अहिले पनि व्यापक रूपमा खोला उत्खनन भइरहेको छ । मापदण्ड अनुसार दैनिक तीन सय घन मिटर उत्खनन गर्नुपर्नेमा त्यसको कयौँ गुणा बढी उत्खनन भएको जिससले अनुमान गरेको छ ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले तत्कालै खोलाको ‘देप्थ र लेन्थ’को प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको र प्रतिवेदन आएपछि थप कदम चालिने बताए । प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लेख भएको भन्दा बढी मात्रामा खोला उत्खनन भएको उनी बताउँछन् ।

यसरी ठेक्का लिएको भन्दा बढी नदीजन्य पदार्थ उत्खनन हुँदा वातावरणमा प्रभाव परेसँगै जिल्लाको तल्लो भागमा बर्सेनि पानीको समस्या हुने गरेको छ । अनियन्त्रित नदी उत्खननले बाढी पहिरोको समस्या समेत खेप्नु परेको स्थानीयको गुनासो छ ।
