शैक्षिक गुणस्तरमा फड्को मार्दै तारकेश्वर नगरपालिका, के के गर्दैछ नयाँ प्रयास ?


काठमाडौं । तारकेश्वर नगरपालिकामा मेयरको उमेदवार हुँदैगर्दा कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई एक मुख्य एजेण्डा बनाएका थिए । मेयरमा निर्वाचित भएर सपथ ग्रहण सकिए लगत्तै कृष्ण हरि महर्जनले पहिलो कार्यपालिका बैठकमै आफ्ना तीन मुख्य एजेण्डाहरु १.करको दायरा बढाउने र करको दर घटाउने २.सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र ३.एक घर एक पानीसहितको धारा उपलब्ध गराउने विषय प्रस्ताव गरे र पास पनि भयो ।
त्यसपछि आफ्नो एजेण्डाअनुरुप काम गर्न सुरु गरेका मेयर महर्जनले शिक्षा क्षेत्रको बजेट ह्वात्तै बढाए ।
आर्थिक वर्ष २०७८/७९ मा शिक्षा क्षेत्रमा १ करोड ३० लाख मात्र बजेट विनियोजन गरिएकोमा महर्जन प्रमुख भएर आएको साल नै २०७९/८० मा शिक्षामा बजेट बढाएर ८ करोड ८६ लाख पुर्याए । आर्थिक वर्ष २०८०/८१ मा ९ करोड र ८१/८२ मा ९ करोड ९४ लाख १ हजार बजेट विनियोजन गरिएको छ । पालिकाले शिक्षा क्षेत्रमा विद्यालयको पूर्वाधार सुधार, प्रविधिमैत्री वातावरण निर्माण, शिक्षकका सेवासुविधा, विद्यार्थीको खाजाको गुणस्तर, विद्यालयस्तरका खेलकुद कार्यक्रम लगायतमा लगानी गरेको देखिन्छ । लगानी बढेअनुसार तारकेश्वरमा शिक्षा क्षेत्रको अवस्थामा समेत व्यापक सुधार हुँदै गएको नगरपालिकाको दाबी छ ।
पालिकामै ८६ वटा शिक्षक दरबन्दी सिर्जना, शिक्षकहरुलाई प्रोत्साहन
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्छ भनिरहँदा विद्यालयहरुमा दक्ष जनशक्तिको अभाव थियो । संघीय सरकारले उपलब्ध गराएका शिक्षकबाट मात्र नपुगेर पालिकाले आफैंले दायित्व बोक्ने गरी शिक्षक दरबन्दी सिर्जना गर्यो । पालिकाले ८६ वटा दरबन्दी सिर्जना गरेर संघीय सरकारले दिएकै सेवासुविधा उपलब्ध गराएको छ । यसरी पालिकाले सिर्जना गरेको दरबन्दीका लागि पनि वार्षिक ४ करोड दायित्व पालिकालाई पर्न जाने देखिन्छ ।
पालिकाले बालविकास सहजकर्ताको संख्या पालिकाभित्र ३२ जना मात्र रहेकोमा थपेर ३९ जना पुर्याएको छ । बालविकास सहजकर्तालाई राज्यले दिएकाे तलबमा पालिकाले थपेर १८ हजार दिने गरेको तारकेश्वर नगरपालिकाको शिक्षा समितिका सदस्य राजेन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुने भन्दै पालिकाले प्रत्येक विद्यालयका प्रधानाध्यापकहरुको मासिक तलबभत्तामा ३ हजार रुपैयाँ थप गरेर दिने गरेको छ ।
त्यसैगरी पालिकाले ‘सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अध्ययन भ्रमण’ भनेर शिक्षकहरुको भ्रमणका लागि समेत बजेट विनियोजन गर्ने गरेको छ । प्रत्येक शैक्षिक सत्रको अन्त्यतिर पालिका भित्रका शिक्षकहरु देशका विभिन्न स्थानमा रहेका नमुना विद्यालयहरुको भ्रमणमा जाने गरेका छन् । विद्यालयले भ्रमणका लागि प्रस्ताव लिएर आउने र भ्रमणपछि पनि रिपोर्ट बनाउने गरेका छन् । यसका लागि पालिकाले प्रतिशिक्षक २ देखि ३ हजारका दरले वार्षिक ११ लाख रकम विनियोजन गर्ने गरेको छ ।
त्यसैगरी पालिकामा ‘विद्यालयमा शिक्षक कल्याणकारी कोष’ भनेर सामुदायिक विद्यालयको संस्था निर्माण भएको छ, जसलाई ‘तारकेश्वर विद्यालय समिति’ भनिन्छ । त्यसलाई पालिकाले संरक्षण गरेको छ । प्रत्येक शिक्षकलाई पालिकाले वार्षिक एक हजार दिन्छ र अर्को एक हजार शिक्षकहरुले जम्मा गर्ने गरेका छन् । त्यसबाट पनि शिक्षकहरुको आवश्यकताका लागि ठूलो रकम जम्मा हुने पालिकाको विश्वास छ । अहिले पालिकाका २२ वटा विद्यालयका ५ सय जना शिक्षक यस संस्थामा समावेश भएको पालिकाले जनाएको छ ।
त्यसैगरी शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, अन्तक्रिया लगायतका कार्यक्रम समेत पालिकाले गर्ने गरेको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै, उत्तिर्ण नतिजामा समेत सुधार
पालिकाले शिक्षामा लगानी बढाएअनुसार सामुदायिक विद्यालयमा विद्यार्थी उत्तिर्णको दर र भर्ना दर समेत बढ्दै गएको देखिन्छ । मेयर महर्जनले ‘बेस इयर’ मानेको २०७९ सालमा सामुदायिक विद्यालयमा जम्मा ७ हजार विद्यार्थी भर्ना भएका थिए । अहिले यो संख्या बढेर ११ हजार पुगेको छ । विद्यालयहरुमा पूर्ण रुपमा पाठ्यक्रममा आधारित शिक्षा प्रणाली सुरु भएको पालिकाको दाबी छ ।
२०७९ सालको कक्षा ८ को परीक्षामा जम्मा ३२ प्रतिशत विद्यार्थी पास भएका थिए । २०८० सालमा यो संख्या ५६ प्रतिशत पुगेको र २०८१ मा ७१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको पालिकाले जनाएको छ । त्यसैगरी पालिकाले एसईई लक्ष्यित विभिन्न कार्यक्रम समेत ल्याएको र एसईईको नतिजामा सुधार गरेको दाबी गरेको छ । शिक्षा समितिका सदस्य तिमिल्सिनाका अनुसार विगतमा नाजुक अवस्थामा भएको एसईई नतिजालाई बढाएर गत साल ७६ प्रतिशत उत्तिर्ण हुन सफल भएको छ । गत सालको एसईईमा पालिकाभित्रका सामुदायिक विद्यालयका एक जना र संस्थागत विद्यालयका ६ जनाले 'जिपिए ४' ल्याएका थिए ।
पालिकाले शिक्षा क्षेत्रको सुधारका लागि ‘थ्री पी’ (पब्लिक, प्राइभेट र पार्टनशीप) मोडल अपनाएर काम गरिरहेको छ । जम्मा ४० हजार विद्यार्थी रहेको पालिकामा ११ हजार विद्यार्थी सामुदायिक विद्यालयका छन् । पालिकाले सामुदायिक र संस्थागत दुवै क्षेत्रलाई सहकार्यमार्फत सुधारको गतिमा लगेको जनाएको छ ।
सबै विद्यालयमा स्मार्ट बोर्ड र स्थानीय पाठ्यपुस्तक
पालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ वटै विद्यालयमा स्मार्ट बोर्डको व्यवस्था गरेको छ । सबै विद्यालयमा आइसिटि ल्याबको व्यवस्था गरिएको छ । विद्यालयका पूर्वाधार र फर्निचरहरु विद्यार्थीमैत्री बनाइएको पालिकाले जनाएको छ । आवश्यकताअनुसार विद्यालयमा बसको व्यवस्था समेत गरिएको छ । बालविकासको क्षेत्रमा डेस्कबेच्न हटाएर चकटी, कार्पेट फम्र्याटिङ, एलसिडि बोर्ड लगायतको व्यवस्थापनका लागि प्रत्येक विद्यालयलाई दुई लाखका दरले बजेट विनियोजन गरेर काम भएको समेत पालिकाले जनाएको छ ।
त्यसैगरी पाठ्यक्रम विकास केन्द्रले २०७४ मा कक्षा ८ सम्म सबै पालिकालाई १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रम लागू गर्न निर्देशन दिएको थियो । अहिलेसम्म कतिपय पालिकामा यसको प्रक्रिया समेत सुरु भएको छैन । तारकेश्वर नगरपालिकामा भने २०७९ साल अघि पाठ्यक्रम तयार भएको थियो तर पाठ्यपुस्तक तयार हुन सकेको थिएन । पालिकामा कृष्ण हरि महर्जन प्रमुख भएर आएपछि २०७९ मै स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयमा अध्यापन गराउन सुरु गरिएको छ । विज्ञहरुको सल्लाह सुझावमा तयार गरिएको पाठ्यपुस्तकमा तारकेश्वर नगरपालिका भित्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रको व्याख्या, सूचना प्रविधिका विषय, विद्युतीय अपराधका विषय, पालिकात्रिका कृषि, उद्योग, जलवायु परिवर्तनका विषय उल्लेख गरिएको शिक्षा समिति सदस्य तिमिल्सिनाले जानकारी दिए ।
पालिकाले जंक फुडलाई ‘कवाडी खानेकुरा’ को नाम दिएर विद्यालय वरपर नै बेचबिखनमा नियन्त्रण गर्नुका साथै बालबालिकामा चेतना समेत जगाउने गरेको छ । विद्यार्थीले बाहिरका खानेकुरा नखाउन भनेर हरेक विद्यालयभित्र नै क्यान्टिनको व्यवस्था गरि स्वास्थ्य खानेकुरा खुवाउने व्यवस्था गरिरहेको छ । कक्षा ५ सम्म संघीय सरकारले दिवा खाजाको रुपमा दिने प्रतिविद्यार्थी १५ रुपैयाँमा तारकेश्वर नगरपालिकाले १० रुपैयाँ थपेर प्रतिविद्यार्थी २५ का दरले खाजाको व्यवस्था गर्दै आएको छ ।
पालिकास्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप
तारकेश्वर नगरपालिकाले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाउन विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । २०७९ सालदेखि पालिकाले सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयलाई तार्गेट गरेर ‘मेयर रनिङशिल्ड खेलकुद प्रतियोगिता’ को आयोजना गर्दै आएको छ । २०७९ सालमा ‘प्रथम मेयर रनिङशिल्ड खेलकुद प्रतियोगिता आयोजना’ गरेको पालिकाले अहिलेसम्म तेस्रो प्रतियोगिता गराइसकेको छ । यो वर्षका लागि समेत आगामी मंसिरमा प्रतियोगिता हुने मिति तय भइसकेको छ । पालिकाले विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि प्रत्येक वर्ष गराउँदै आएको छ । विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी समेत आयोजना गर्ने गरेको छ । यसले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने पालिकाको विश्वास छ । त्यसैगरी पालिकाभित्रका सामुदायिक विद्यालयमा प्रत्येक शुक्रबार विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप हुने गरेका छन् ।
जेष्ठ नागरिक विद्यालय स्थापना हुँदै
तारकेश्वर नगरपालिकाले पालिकाभित्रका जेष्ठ नागरिकहरुका लागि ‘जेष्ठ नागरिक विद्यालय’ को स्थापना गर्ने भएको छ । मेयर महर्जनको नयाँ भिजन अनुसार पालिकाका जेष्ठ नागरिकको जीवनयापन सहज बनाउनका लागि विद्यालय स्थापना गर्न लागिएको हो ।
संघीय सरकारसँगको समन्वयमा पालिकाले विद्यालयका लागि भवन निर्माणको काम सुरु गरिसकेको छ । शिक्षा समिति सदस्य तिमिल्सिनाले अहिलेलाई एक करोड लागतमा भवन निर्माणको काम सुरु भएको र कम्तिमा पनि एक सरो काम गर्न ४, ५ करोडसम्म लाग्ने बताए । यता जेष्ठ नागरिक विद्यालय सञ्चालनका निम्ति 'सञ्चालन तथा व्यवस्थापन कार्यविधि' बनाउने काम समेत भइरहेको छ । भवन निर्माण र कार्यविधिको काम पूरा हुनासाथ जेष्ठ नागरिक विद्यालय २०८२ भित्र नै सञ्चालनमा आउने पालिकाले जनाएको छ ।
जेष्ठ नागरिकहरुलाई अन्तक्रियाका लागि सहज बनाउने, सूचना प्रविधिका कुरा, योग ध्यान, प्रवचन, धर्मकर्म, भजनकृतनलगायतका गतिविधि, चेतनामुलक काम, समाजलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा जेष्ठहरुको धारणा सुन्ने, राख्ने ठाउँका रुपमा जेष्ठ नागरिक विद्यालय हुने पालिकाले जनाएको छ । जेष्ठ नागरिक विद्यालयमा जेष्ठ नागरिकका लागि आराम गर्ने स्थान, स्वास्थ्य परीक्षण, नर्स, औषधी, मनोरञ्जन लगायतका सेवासुविधा उपलब्ध हुने समेत पालिकाले जनाएको छ ।