२३ करोड लागतमा रत्नेचौर–भकिम्ली सडक कालोपत्रे हुँदै


म्याग्दी । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु २३ करोड ३२ लाखको लागतमा कालोपत्रे हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।
‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रेको तयारी थालेको हो ।
सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ । आगामी एक दुई दिनमा कालोपत्रे थालिने इन्जिनियर अरुण सेढाईंले बताए ।
सडकलाई ९ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्रे र दुई किलोमिटर आरसिसी ढलान गरिने छ । “ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रेका लागि तयारी अवस्थामा छौँ”, सेढाईंले भने ।
पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको उनले बताए । रत्न चौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर कालोपत्रे र ३०० मिटर सडक ढलान भइसकेको छ ।