Ad Image

बन्दीपुरमा मौरी घार किसानलाई अनुदानमा वितरण

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747289923.jpg

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो ।

 

मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरी पालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । उनले भने, “किसानलाई कृषिका क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा पालिकाले प्राथमिकता दिँदै आएको छ ।”

 

मौरीसहितको घारको मूल्य रु नौ हजार पर्ने जनाउँदै उनले वार्षिक कृषि कार्यक्रम अन्तर्गत मौरी पालन गर्न इच्छुक किसानलाई तालिम र मौरीसहितको घार वितरण गरिएको बताए । पालिकाले तोरी र मुसुरो खेतीका लागि गत वर्ष रु तीन लाख विनियोजन गरेको थियो । तोरी र मुसुरो खेतीसँगै मौरी पालन गर्ने किसानलाई प्रोत्साहन गर्न घार सहयोग गरिएको अध्यक्ष थापाको भनाइ छ ।

 

गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको पालिका कार्यालयले जनाएको छ ।

 

तीन दिनका लागि सञ्चालित मौरी पालन तालिम आज समापन हुँदैछ । तालिम सकिएपछि मौरीसहितको घार वितरण गर्ने योजना रहेकामा तालिम अगावै मौरी र घार आएकाले वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।