सांसद मोहनबहादुर बस्नेत पदबाट निलम्बित


काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत प्रतिनिधि सभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी सांसद पदबाट निलम्बित भएका हुन् ।
सिन्धुपाल्चोक–२ बाट निर्वाचित बस्नेतमाथि सञ्चारमन्त्री हुँदा मन्त्रिपरिषद् मात्रले गर्ने निर्णय क्षेत्रभन्दा बाहिर गएर टेरामक्स कार्यान्वयनको निर्देशन दिएको आरोप लागेको छ । यसका आधारमा दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले समेत कानुन विपरीत कार्य गरेको अभियोग छ ।
उनीसहित १६ जना प्रतिवादीविरुद्ध दायर मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो माग गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५८ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सार्वजनिक पदाधिकारी विरुद्ध मुद्दा दर्ता भएपछि उनी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।
बस्नेतको निलम्बनसम्बन्धी औपचारिक पत्र संसद् सचिवालयमा आइपुगेको छैन । संसद् सचिवालय स्रोतका अनुसार पत्र प्राप्त भएसँगै सभामुखले संसद् बैठकमा जानकारी गराउनेछन् ।