कांग्रेस–एमाले सरकारबीच कुनै द्वन्द्व छैन : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनको विषयमा कुनै विवाद नरहेको दाबी गरेका छन् ।
नेपाल पत्रकार महासंघ, सप्तरीद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई दलबीचको राजनीतिक समीकरण विघटन हुने होइन, अझ सुदृढ हुँदै जाने स्पष्ट पारे ।
“देश अहिले राजनीतिक स्थायित्व र सुशासनको दिशातर्फ अघि बढिरहेको छ,“ गृहमन्त्री लेखकले भने, “वर्तमान सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधार गरी लयमा ल्याउने प्रयास गरिरहेको छ।”
उनले शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गर्ने र संघीयता संस्थागत गर्न कानुनी आधारहरू निर्माण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । सरकार अब स्थायित्व, आर्थिक सुधार र शान्तिपूर्ण रूपान्तरणतर्फ केन्द्रित हुने उनी बताउँछन् ।