खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान


कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजा खेती गरेका किसानको यति बेला बिक्री केन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगर खेतमा उत्पादित खरबुजा गोरु गाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।
गर्मी याम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए । उनले दिनमा रु १० हजारदेखि रु १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिए । “धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरु गाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले एक÷दुई दिन बिराएर बिक्री गर्ने गरेको छु”, उनले भने ।
लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजा खेती गर्दै आएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताए । उनले दिनमा रु चार हजारदेखि रु सात हजारसम्म आम्दानी हुने जानकारी दिँदै दैनिक दुई क्विन्टलसम्म बिक्री हुने गरेको उल्लेख गरे ।
“उत्पादनको सुरुमा रु ४० देखि रु ६० मा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ”, उनले भने ।
किसानले यस वर्ष खुटिया, शिवगङ्गा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजा खेती गरिरहेका छन् । त्यस्तै, मोहना नदीबगरको जुगेडा, घुइँयाघाट, बङ्गरा कटान क्षेत्रमा पनि केही किसानले व्यावसायिक खरबुजा खेती गरेका छन् । नदीबगरमा थारु समुदायका व्यक्तिसहित भारतीय किसानले व्यावसायिक रूपमा खरबुजा खेती गर्दै आएका छन् ।