तरकारी बेचेर मासिक १२ हजार कमाउँछिन् ६० वर्षीया चन्द्रादेवी


डीबी विष्ट
बझाङ । ६० वर्षीया चन्द्रादेवी बोहरा बझाङको थलारा गाउँपालिका–४ कि बासिन्दा हुन् । १२ जना परिवारको सदस्यमा चन्द्रादेवी मासिक १२ हजार आम्दानी गर्छिन् । उनको आम्दानीको स्रोत घर नजिकै रहेको करेसाबारी हो । उनी करेसाबारीमा उत्पादन गरेको तरकारीबाट मासिक १२ हजार आम्दानी गरिरहेकी छिन् । चन्द्रादेवीले विद्यालय, बजार तथा गाउँमा गरेर न्यूनतम मासिक १२हजार आम्दानी गर्दै आएकी छन् ।
उमेरले ६० वर्ष पुगे पनि उनको दिनचर्या निकै कष्टकर छ । केही वर्ष अघिदेखि सामुदायिक विद्यालयहरूमा दिवा खाजा सञ्चालनमा आएको थियो । जसले गर्दा घरमै बस्नुपर्ने उनको परिस्थिति थियो । करेसाबारीमा उत्पादन गरेको तरकारी बिक्री गर्न नजिकै बजार थिएन । दिनरात नभनी दुःख गरेर उत्पादन गरेको तरकारी छिमेकी र इष्टमित्रलाई निःशुल्क दिनुपर्ने अवस्था थियो । गाउँमा बजार नभएकै कारण तरकारी व्यवसाय गरेर कुनै उपलब्धि नभएको उनले बताइन् ।
“गाउँमा तरकारी बिक्री हुँदैन थियो । कहिले काहीँ गाउँ नजिकै रहेको होमस्टे सञ्चालकले लिनु हुन्थ्यो । त्यो पनि निकै सस्तो मूल्यमा विक्री गरेर फर्किनु पर्ने बाध्यता थियो । गाउँबाट बजार सम्म पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्थ्यो । दिनभर एक भारी तरकारी लिएर छिमेकी गाउँपालिका केदार स्यूँको देउरामा पुगे पनि कहिले भने जस्तो मूल्य नपाइने र कसैले खरिद गर्न नमान्ने जस्ता समस्याले सस्तोमा मूल्यमा तरकारी बेचेर घर फर्कनु पर्ने अवस्था थियो । अहिले स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सुरु भएपछि साना किसानहरूले उत्पादन गरेको तरकारी नजिकैको सामुदायिक विद्यालयहरूलाई बिक्री गर्ने गरेका छौँ । जसले हामीलाई सजिलो भएको छ ।”
स्थानीय उत्पादनमा साना किसानलाई जोडेपछि आफू मात्रै नभएर आफू जस्ता हजारौँ किसानहरूलाई ठुलो राहत पुगेको उनको भनाइ छ । जिल्लामा रहेका ४ सय ४५ वटा सामुदायिक विद्यालयहरूमा हरेक दिन करेसाबारीको ताजा तरकारी पुग्ने गरेपछि आफू र आफू जस्ता किसानको आम्दानीको स्रोत र बाँच्ने माध्यम बनेको उनी बताउँछिन् ।
उनी भन्छिन्, “विद्यालयले तरकारी नलिएको समयमा घरमै दिन काट्न मुस्किल हुन्थ्यो। म जस्ता धेरै बुढा पाकाहरू पनि घरमा बस्नु पर्ने बाध्यता थियो । अहिले तरकारी बारीले गर्दा प्रत्येक दिन घर नजिकै रहेको त्रिभुवन माध्यमिक विद्यालय महेन्द्रधारमनामा १२ किलोग्राम तरकारी पुर्याएकै हुनुपर्छ । जसका कारण करेसाबारीमा गएर तरकारी गोडमेल गर्नु पर्ने हुन्छ । म मात्रै नभएर मेरा श्रीमानले पनि मलाई सहयोग गर्नुहुन्छ । घरमा भएको समयमा छोरा बुहारीहरू पनि सहयोग गर्छन् । खाली बसी रहनु नपर्ने र घरमै बसेर भए पनि हात खुट्टा चलाई राख्नु पर्ने भएकाले आफ्नो शरीरलाई पनि फाइदा पुगेको छ ।”
स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम विश्व खाद्य कार्यक्रम (WFPA) मर्सिकोर नेपाल, बहुउद्देश्यीय विकास समाज (MPDS) र थलारा गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालन भएको बहुउद्देश्यीय विकास समाज बझाङका परियोजना संयोजक शिवराज उपाध्यायले जानकारी दिए ।
उक्त कार्यले विद्यालय उमेर समूहका स–साना बालबालिकाहरूको पोषणमा सुधार र साना कृषकहरूको आय स्तरमा समेत वृद्धि भएको र अभिभावक, शिक्षक र विद्यार्थीको सम्बन्धलाई पनि जोडेको संयोजक उपाध्यायको भनाइ छ ।
बाल कक्षा देखी कक्षा ८ मा अध्ययन गर्ने बालबालिकालाई दैनिक रूपमा प्रति विद्यार्थी ४० ग्राम तरकारी, २० ग्राम दाल, ८० ग्राम चामल, १० ग्राम तेल र २ ग्राम नुनका दरले उपलब्ध गराउने गरिएको उपाध्यायले जानकारी दिए ।
आफ्नै गाउँघरमा उत्पादन गरेको ताजा तरकारी एकै दिनमा २ हजार ४२ किलोग्राम सबै सामुदायिक विद्यालयहरूमा बिक्री गर्ने गरेको जानकारी दिँदै उपाध्यायले विद्यालय स्वास्थ्य र पोषण सेवाहरूको उपलब्धता, पहुँच तथा प्रयोगलाई सबै लक्षित विद्यार्थीहरू सम्म पुग्ने, क्षमता बढाउने, खाद्य स्वच्छता सहित सरसफाइ सेवाहरूको पहुँच र प्रयोगको माध्यमबाट स्वास्थ्य विद्यालयको वातावरण सुधार गर्ने लक्ष्य रहेको बताए ।
शिक्षा र व्यवहार परिवर्तन सञ्चारमार्फत स्वस्थ व्यवहार, बानी सुधार गर्ने प्रणाली र कार्यान्वयनलाई बलियो बनाउने कार्य गर्दै गएको उपाध्याय बताउँछन् । उनले विद्यालय स्वास्थ्य कार्यक्रमको समग्र लक्ष्य विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शारीरिक, मानसिक, भावनात्मक र शैक्षिक विकास गर्ने तरीकाले काम गरी रहेको बताए ।