शुक्लाफाँटामा डिप ट्युवेल जडान भएपछि २४० बिघामा सिँचाइ सुविधा


कञ्चनपुर । डिप ट्युवेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको दुई सय ४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युवेल जडान गरेको हो । गौँडी, खल्ला, बसन्तपुर र तिलकी टोलमा डिप ट्युवेल जडानको कायम गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए ।
“एउटा डिप ट्युवेलको मद्दतमा ६० बिघा जग्गामा सिँचाइ गर्न सकिन्छ” उनले भने । डिप ट्युवेलमार्फत सिँचाइ सुविधा उपलव्ध भएपछि यस क्षेत्रका किसानलाई माछापालन, उखुखेती, तरकारी खेती, बसन्ते मकैखेती, केराखेतीलगायत गर्न सहज भएको छ । किसानले समयमै धान, तोरी, मसुरो र गहुँबाली लगाउन पाएका छन् । बालीको उत्पादकत्व विगतको तुलनामा वृद्धि हँुदै गएको किसानको भनाइ छ ।
“विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नुपर्दथ्यो”, केराखेती गर्दै आउनुभएका मोहन रानाले भने, “सिँचाइको सुविधाले चाहेको बेला सिँचाइ गर्न पाएका छौँं, केराखेतीबाट मनग्य आम्दानी लिँदै आएका छौंँ ।”
सिँचाइको व्यवस्थाले यस क्षेत्रका किसानको आयआर्जनमा वृद्धि भएको स्थानीय शिक्षक गेंदुराम रानाले बताए उनका अनुसार डिप ट्युवेल जडानबाट चार सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।