लागूऔषधको अखडा बन्यो सिरहा, एक वर्षमा ७३८ किलो गाँजा बरामद, १२० जना पक्राउ


मुकेश कुमार यादव/सिराहा । सिरहामा लागूऔषधको कारोबार तथा तस्करी बढ्दै गएको छ । लागूऔषधको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सक्रियता तीव्र पारेपनि अपेक्षित नतिजा प्राप्त गर्न सकेको छैन खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरुले जिल्लाको विभिन्न नाकाहरूबाट सहजै नेपालबाट भारतीय बजारसम्म प्रतिबन्धित लागूपदार्थ गाँजा पुर्याउने र भारतीय बजारबाट ब्राउनसुगर, कोरेक्स, टयावलेट लगायतका लागूऔषध नेपाल भित्र्याउने गरेका छन् ।
स्थानीय प्रशासनले पटक–पटक लागूऔषध नियन्त्रण गर्न अभियान चलाए पनि लागूऔषध तस्करी र प्रयोगकर्ताहरू बढ्दै जानुले प्रहरीको टाउको दुखाई भएको छ । प्रहरीले शुक्रबार मात्रै गोप्य सूचनाको आधारमा लहान नगरपालिका– १२ भोटिया टोलस्थित चौकबाट ठूलो परिमाणमा खैरो हिरोईन जस्तो देखिने पदार्थ २ सय ८ ग्राम र अन्य २०१ ग्राम लागु पदार्थसहित एकजनालाइ नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा लहान नगरपालिका– २२ लबटोलीका ३२ वर्षिय दिनेश कुमार यादव र सोही मोटरसाइकलमा पछाडि सवार उनकै बहिनी २६ वर्षीय किरण कुमारी यादव रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध मात्र नभइ ५५ लाख २२ हजार ९ सय ८३ रुपैयाँ नगद समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता वीरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार, लागूऔषध नियन्त्रण ब्युरो र गोलबजार सिरहाको संयुक्त प्रहरी टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाईकललाई चेकजाँच गर्दा उक्त परिमाणको लागूपदार्थ र सो रकम फेला परेको हो।
यसैगरी, सिरहाबाटै अर्का दुईजना पनि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । औरही गाउँपालिका–३ का २० वर्षीय कृष्ण कुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
सिरहामा लागूऔषध तस्करीमा विशेषगरी युवा पुस्ता आकर्षित हुँदै गएको छ । लागूऔषध सजिलै जुनसुकै पसल तथा स्थानहरुमा उपलब्ध हुने भएकाले प्रयोगकर्ता पनि दिनप्रतिदिन बढ्दै गएको नाम नखोल्ने सर्तमा एक प्रयोगकर्ताले बताए । उनले भने, ‘मुख्यत लागुऔषध सहज रुपमा उपलब्ध भएकै कारण सिराहाका किशोर–किशोरी र युवा पुस्ता लागूऔषधको सिकार हुँदै गइरहेको छ ।लागूऔषधले हाम्रो पुस्ताको जीवन नै बर्बाद गर्दैछ।’
जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्मको तथ्याङक अनुसार प्रतिबन्धित लागु पदार्थ गाँजा ७ सय ३८ किलो, खैरो हिरोईन १ किलो १५० ग्राम, २०९ मिलि ग्राम बरामद भएको छ । डाईजेपाम ७ सय ४९ एम्पुल, फेनारगन ४ सय ७६ एम्पुल, ब्युप्रोनोरफिन ५ सय ४२ एम्पुल, प्रोमेथाजिन २ सय ८० एम्पुल र अन्य २१८ एम्पुल नाईट्राजेपाम ९ सय ७६ ट्याब्लेट, स्पास प्रो लेखिएको १ सय ९५ क्याप्सुल, कोडिन ९ सय १८ बोतल भन्दा बढी बरामद भएको छ ।
त्यसैगरी, ७५ वटा मुद्दामा १ सय २० जना कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरिएको छ । नेपालमा थोक रुपमा गाँजा खरिदगर्दा प्रतिकिलो १० हजार देखि १८ हजार सम्म पर्छ, भन्ने सोही गाँजा भारतीय वजारमा प्रतिकिलो १२ हजार देखि २५ हजार भारतीय रुपैयामा बिक्री हुने गरेको स्रोतको दावी छ।
त्यसैगरी भारतीय वजारमा प्रतिग्राम खैरो हिरोईन (ब्राउन सुगर)को १ हजार देखि २ हजारसम्ममा खरिद गरिएका लागूपदार्थ नेपालमा भन्ने एक मिलिग्रामको मात्रै पाँच सय रुपैया पर्ने गरेको बुझिएको छ।
सिरहामा एक आर्थिक वर्षमा लागूऔषधमात्र एक करोड भन्दा बढीको कारोबार भएको देखिन्छ। गोलवजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्ण भन्छन्, खासगरी तराई मधेशमा लागूऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्नुको मुख्य कारण बेरोजगारी र गरिबी हो ।
रोजगारका अवसरको कमीले मानिसहरू तनावमा पर्दापनि लागूऔषधको सहारा लिन थाल्छन्। उनले थपे, ‘पारिवारिक समस्याका कारण पनि युवाहरू लागूऔषध दुर्व्यसनमा फस्छन् । एक त सामाजिक दबाब र साथीहरूको प्रभावले पनि लागूऔषधको प्रयोग बढिरहेको देखिन्छ।’
यसैगरी लागूऔषधको कारोबारसँगै सिरहामा हुन्डी कारोबार पनि बढेको छ । प्रहरीले शनिबार सिरहा नगरपालिका– १७ का ४५ वर्षीय संजय कारकलाई १६ लाख ३८ हजार ३ सय ७० रुपैयाँ अवैध रकमसहित पक्राउ गरेको छ । उनी हुन्डी कारोबारी रहेको सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।