रघुगङ्गाको ४ वटा वडामा निःशुल्क पशु स्वास्थ्य शिविर, एक हजार बढी कृषक लाभान्वित


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चारवटा वडामा सम्पन्न निःशुल्क पशु स्वास्थ्य शिविरबाट एक हजार बढी कृषकहरू लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजना म्याग्दीमार्फत रघुगङ्गा गाउँपालिका–३, २, ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
पशु स्वास्थ्य चिकित्सक र प्राविधिकसहितको टोली वडामा नै आएर पशुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरेपछि कृषकहरू खुसी भएका छन् । शिविरबाट गाई, भैँसी, बाख्रालगायत कुखुरापालन गरिरहने एक हजार ४०० जना किसानहरूले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिए ।
स्थानीय वडाका वडाअध्यक्षको विशेष उपस्थितिमा सम्पन्न शिविरमा किसानहरूले आगामी दिनहरूमा पनि यस्ता शिविरलाई निरन्तरता दिन आग्रह गरेका थिए । रेडक्रसले मानवीय सेवाका साथै गरिब तथा विपन्न वर्गालाई लक्षित गरेर जीविकोपार्जन र आयआर्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकामा धन्यवाद व्यक्त गर्दै रघुगङ्गा गाउँपालिका–३ का वडाअध्यक्ष खिमबहादुर शाहीले वडाले पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने र सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरेर अघि बढ्ने बताए ।
शिविरमा डा.आशिष सापकोटासहित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका सुवास रेग्मी एवम् दीक्षा भण्डारीले प्राविधिक सेवा उपलब्ध गराएका थिए । रेडक्रसको साझेदारीमा भइरहेको सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजनाअन्तर्गत समुदाय स्तरमा विभिन्न किसिमका तालिमहरू पनि भइरहेको नेपाल रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।