Ad Image

हुप्सेकोट गाउँपालिकाद्वारा ९३ जना सुत्केरीलाई पोषण खर्च प्रदान

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hupsekot.PNG

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ९३ सुत्केरीलाई नगद रु पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिका भित्रका ९३ जना सुत्केरीलाई रकम हस्तान्तरण गरिएको हो । 

सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पोषण खर्च दिने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । “सुत्केरी आमालाई आर्थिक सहायता, पोषण र स्याहारको खाँचो विशेष रूपमा महसुस हुन्छ, यिनै आवश्यकतालाई बुझेर गाउँपालिकाका तर्फबाट केही भए पनि रकम दिने व्यवस्था मिलाइएको हो”, उनले भने ।  

गाउँपालिकाभित्र रहेका सबै वर्ग समुदायका महिलालाई सुत्केरी समयमा आधारभूत पोषणको कमी नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । सुत्केरी भएपश्चात् बैङ्क खातामा रकम पठाइने भए तापनि तत्कालको गर्जो सापटीमार्फत चलाउन सक्ने आधार पोषण खर्च कार्यक्रमले सुनिश्चित गरेको अध्यक्ष पाण्डेले बताए ।   

“यो कार्यक्रममार्फत मातृ र शिशुमृत्यु दर घटाउने हाम्रो प्रयास हो”, उनले भने, “हामी चाहन्छौँ सुत्केरी महिला पोषिलो आहार खान सकून्, आफूलाई स्याहार गर्न सकून् ।” गाउँपालिकाले यो कार्यक्रमलाई मातृ स्वास्थ्यसँगै महिला आत्मनिर्भरताको पनि एउटा पाइलाका रूपमा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए। 

“हामीले पोषण खर्चका साथै स्वास्थ्य सल्लाह, नियमित जाँच र भिटामिन वितरणजस्ता सेवा पनि सँगसँगै प्रवाह गरिरहेका छौँ”, उनले भने। गाउँपालिकाभित्र स्थायी बसोबास गरेका महिला गर्भवती अवस्थामा चारपटक स्वास्थ्य संस्थामा परीक्षणका लागि गएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र बच्चाको जन्मदर्ता गरेको प्रमाण पेस गरेपछि गाउँपालिकाले रकम उपलब्ध गराउने गरेको छ । यो सहायता रकम महिला आफैँले प्रयोग गर्नसक्ने व्यवस्था गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र रेग्मीले बताए।  

“यस कार्यक्रममार्फत गर्भवतीको नियमित स्वास्थ्य परीक्षण, अस्पतालमा नै सुत्केरी हुने अवस्था र नवजात शिशुको समयमै जन्मदर्ता गराउने बानीको विकास भएको पाएका छौँ”, उनले भने, “एउटै कार्यक्रमले मातृशिशुको स्वास्थ्यसँगसँगै बच्चाको जन्मदर्ताको सुनिश्चितता गरेको छ ।” 

गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी स्याहार पोषण खर्च’ कार्यक्रमले आमाहरूको जीवनमा राहत, स्वास्थ्यमा सुधार र समुदायमा सकारात्मक सन्देश दिन सफल भएको स्थानीय महिलाको भनाइ छ ।