मकवानपुरमा ब्रेक फेल भएर गाडी दुर्घटना, तीन जना गम्भीर घाइते

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथ सडकखण्डमा गाडी दुर्घटना भएको छ । चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको गाडी मंगलबार दिउँसो १ बजे राजपथ सडकखण्ड छैसठ्टी मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश २-०३-००१ ज ०१४७ नं.को गाडी सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडकबाट खसेको गाडी रूखमा अड्किएको थियो।
दुर्घटनाको खबरपछि प्रहरी चौकी चैसे, सिमभञ्ज्याङबाट खटिएको टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पतालमा पठाएको छ।