Ad Image

सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

User Image Mayorsap | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Sota Honey Hunting  (1).JPG

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरूमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौँ अघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ ।

डोरीमा झुन्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी भएका थिए । 

अक्करे भिरमा सिकारीले भाडामा झिक्ने महलाई सङ्कलन, प्रारम्भिक प्रशोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए । महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन् । 

स्वाँतबासीहरु घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरेभिर गएका थिए । महशिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ नहोस् भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो । गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपालि पाँच गुणा कम मह उत्पादन भएको छ । 

केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको सिकारी पाइजाले बताए । छहरिको भिरमा ११ वटा गोला थियो । बुधबार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महशिकार गर्ने तयारी छ । त्यहाँ करिब २० वटा गोला छन् ।

खोल्साको नजिकैको ओसे पिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको वासस्थान हुन्छ । वन जङ्गलमा फुल्ने फुल भिरमौरीको आहारा हो । हिउँदमा न्यानो खोज्दै बेसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइसराइ गर्छन् । 

महशिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए । काठमाडौंका सागर पराजुलीले रसीमा झुन्डिएर भिरबाट मह निकालेको साहसिक दृश्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए । 

“मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको डरलाग्दो भिरमा झुन्डिएर मह निकालेको पहिलो पटक देख्दा शरिरनै जिरिङ्ग भयो,” उनले भने, “भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ ।” 

भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । 

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुईँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् । 

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यति बेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनु पर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । 

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ गरिन्छ ।

चौध वर्षदेखि महशिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाईबाट बच्न सकिने कपडा, सेप्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए । “आठ दश वर्ष अघिसम्म सिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,” उनले भने, “अहिले सेप्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ ।” 

स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्ति वर्द्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए । मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्त्व छ । विदेश गएका र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजाने गर्छन् । 

स्वाँतका सबै भिरबाट निकालिएको मह सङ्कलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ । पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरूलाई तीन बर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ । गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ । 

स्वाँतको भिरमहको मूल्य प्रतिलिटर रु. तीन हजार कायम गरिएको छ । बसाई सरेर बेनी, पोखरा, काठमाडौं, चितवन गएकाहरू मह सिकार गर्ने समयमा स्वाँत आउँछन् । पोखरामा बस्दै आउनुभएकी स्वाँतकी चन्द्र पुनले महशिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताउनुभयो । स्वाँतमा बस्ती बसे देखिनै महशिकार गर्ने चलन रहेको छ । 

अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले महशिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यावसायिक बनाउँदै पर्यटनसँग जोड्ने योजना रहेको बताए । महशिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रशोधन र भण्डारण गरी बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए ।