Ad Image

पर्वतमा गौरवको आयोजना ६ वर्षदेखि अलपत्र

User Image Mayorsap | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/alapatra sadak.jpg

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि वैकल्पिक मार्ग बनाउन थालिएको छ । जलजला गाउँपालिका–७ मिलन चोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना छ वर्षदेखि अलपत्र बनेको हो । 

ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकल्पिक मार्ग खोल्न थालेका हुन् । उक्त खण्डअन्तर्गत मिलन चोकबाट सल्यानसम्मको तीन दशमलव ५०० मिटर गत वर्ष कालोपत्रे भए पनि सोभन्दा माथिको सात दशमलव पाँच किलोमिटर सडक अलपत्र बनेको हो ।

धाइरिङ्गस्थित किराखोरमा बर्सेनि झर्ने पहिरोका कारण वर्षायाममा सडक पूर्ण रूपमा क्षति हुने गरेकाले वैकल्पिक मार्ग निर्माण गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पहिरो नपर्ने र बस्तीसमेत सुरक्षित हुने दिशातर्फबाट वैकल्पिक मार्ग खोलिएको छ । 

वैकल्पिक मार्गका रूपमा सल्यानबाट घायखेतसम्मको ट्र्याक परिवर्तन गर्न थालिएको अध्यक्ष आचार्यले बताए । ठेकेदारले समयमा काम नगर्दा किराखोर पहिरोमा बर्सेनि समस्या बढेपछि वैकल्पिक मार्ग खोली हाल स्तरोन्नतिको काम भइरहेको उनले जानकारी दिए । 

दुई किमी लामो सडकको नयाँ मार्ग जलजला गाउँपालिकाले आफ्नै लगानीमा खोलेको हो । सोही सडकमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटले स्तरोन्नति सुरु गरिएको आचार्यले बताए । टेवा पर्खाल लगाउने, ग्याबियन जाली भर्ने, घुम्ती सुधारलगायत काम भइरहेका जनाउँदै उनले स्तरोन्नति सम्पन्न भएपछि बाह्रै महिना यातायातको सुविधा पुग्ने उल्लेख गरे ।

आवागमन अत्यन्तै कठिन रहेको उक्त सडकको भौगोलिक अवस्था सुधार र स्तरोन्नतिका लागि रु १० करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०तयार गरी प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको उनी बताउँछन् । 

यो दुई किमी सडकले सल्यानबाट घायखेत जोड्ने छ भने किराखोरको पहिरोतर्फको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय हेमनाथ आचार्यले बताए । उनका अनुसार सडक अलपत्र पर्दा धाइरिङ्गका एक हजारभन्दा बढी परिवारले समस्या भोग्दै आएका छन् । तरकारीको पकेट क्षेत्र मानिएको धाइरिङ्गमा उत्पादित वस्तु निकासी तथा भूमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई समस्या पर्दै आएको उनले बताए । 

विसं २०७८ मङ्सिर ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो । 

सडक निर्माणको जिम्मा पाएको हिमदुङ एन्ड थोकर निर्माण सेवाले विभिन्न बहाना बनाउँदै समयमा काम नगर्दा आयोजना अलपत्र बनेको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए । उनका अनुसार सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ । 

सडक सम्पन्न गर्न पटक पटक निर्माण व्यवसायीलाई म्याद थप गरे पनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको प्रमुख अर्यालले बताए । उनका अनुसार कार्यालयले पटक पटक कालोसूचीमा राखेर काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गर्दै आएको छ ।

सडक निर्माणलाई सम्पन्न नगरी अलपत्र पारेर छाडिएकाले बस्ती क्षेत्रमा पहिरोको जोखिम बढेको स्थानीय पूर्ण परियारले बताए । उनका अनुसार निर्माणले निरन्तरता नपाउँदा बनाइएका संरचना पनि भत्किएर जीर्ण बनेका छन् ।

यसैबिच गण्डकी प्रदेशसभाका सांसद भक्त कुँवरले उक्त सडकको अनुगमन गर्दै गौरवको आयोजना समयमा सम्पन्न हुन नसकेपछि स्थानीय पालिकाले खोलेको वैकल्पिक मार्गलाई अघि बढाउन आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।