Ad Image

अनि कसरी आउँछन् र पर्यटक ?

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Tourism badriprakash Ojha.jpg

कुरो हो–मे २६, सन् २०२५ को । क्याथिप्यासिफिकको विमान हङकङ हुँदै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । मानिसहरु बाहिर आए, आ–आफ्नो पोका बोके र हानिए अध्यागमन विभागको कार्यालयतर्फ । अधिकांश विदेशी पर्यटक सवार थिए । ३०–४० जना नेपाली हुँदा हुन् । केही नेपाली मुलका विदेशी पनि देखिन्थे ।

पालैपालो भित्तामा टाँगिएका कम्प्युटरमा लाइन लागे, विवरण भर्नलाई । एउटा विदेशीले लगातार प्रयास गर्दा पनि कम्प्युटर खुलेन । त्यसपछि उसले छेवैमा रहेको अर्को साथीतर्फ हेरे । त्यो पनि चलेन । अर्कोतिर हेरे, त्यो पनि चलेन । अन्त्यमा जानकरी भयो, त्यहाँ राखिएका आधा दर्जन कम्प्युटर नचल्ने अवस्थामा रहेछन् ।

उनीहरुले ड्युटी अफिसरलाई सोधे— किन नचलेको यो भाँडो ? 

उनले केही जवाफ दिएनन्, मात्र भने— हातैले लेख्न सक्नुहुन्छ । दुई चार पानाको विवरण पत्र थमाए । 

छेवैमा रहेका नेपाली मुलका विदेशी कालोनिलो हुँदै ती विदेशीलाई विवरण भर्न सघाउँदै थिए । उनलाई देशको दुर्दशा देखेर हैरान लागेको भान हुन्थ्यो । 

केही समयपछि उनको भराइ पूरा भयो । मानिसको भिड छ, आजमात्र नौ हजार मानिस आए, ड्युटी अफिसर आफू पनि हैरान भएको स्पष्टिकरण दिँदै थिए । 

निकै बेरपछि ती विदेशीले भित्तामा टाँसिएको क्यूआर कोडबाट पैसा तिर्ने प्रयास गरे । त्यो पनि चलेन । अनि, अंग्रेजी अक्षर एफबाट सुरु हुने गाली गरे र फेरि सोधे, अब के गर्नू ? 

ड्युटी अफिसरले जवाफ दिए–उ, त्यहाँ बैंकमा गएर पैसा जम्मा गर्नुहोस् ।  फतफताउँदै ती विदेशी बैंकतर्फ लागे । 

त्यसपछि पालो आयो नेपाली मूलका विदेशी नागरिकको । उनले फटाफट फार्म भरे । 

यी सबैले अनअराइभल अथवा आइपुगेपछि दिइने भिसाका लागि आवेदन दिनेहरु थिए ।

भित्तामा जानकारी टाँसिएको  छ–

भिसाका लागि तीन स्टेप हुनेछन्ः

पहिलो स्टेप: अनलाइन मार्फत वा अध्यागमन विभागको वेबसाइट मार्फत फार्म भरेर आउने अथवा विमानस्थलको कोइस्क मेसिनमार्फत भर्ने । सामान्यतया मानिसको भिडभाड हुने ठाउँमा यस्तो मेसिनको प्रयोग गरिन्छ र कामलाई चुस्त पारिन्छ । हाम्रो विमानस्थलमा पनि यस्ता मेसिन थिए तर मात्र काम नगर्ने अवस्थामा । 

दोस्रो स्टेप: कतिदिन बस्ने हो सोही अनुसार बैंकमा शुल्क जम्मा गरेर भौचर लिएर आउनुपर्ने । जस्तो कि १५ दिनका लागि भए ५० अमेरिकी डलर, ३० दिनका लागि भए ५० डलर र ९० दिनका लागि भए एक सय २५ डलर  ।

तेस्रो स्टेपः उल्लेखित सबै डकुमेन्ट हातैमा लिएर अध्यागमनका अधिकारी समक्ष आउने र भिसा लिने । 

यति गर्न ती विदेशीलाई ३ घन्टा लाग्यो । अनुहार हेर्दा रुनै लागेका देखिन्थे ।

आफू फसिएको भान पर्यो र तुरुन्तै आफ्ना साथीलाई फोन गरे । 

उनको भनाइको सार थियो, तिमी नआउ । म पनि यात्रा छोट्याएर फर्किन्छु अनि उतै भेटौंला । शायद आउनेवाला महिला पर्यटक उनकी प्रेमिका हुँदिहुन् ।  उनी बैंकक हुँदै काठमाडौं आउनेवाला थिइन् । तर यहाँको अस्तव्यस्तताले उनका प्रेमीलाई हैरान पारेकाले उनले नआउने निर्णय गरिन् । एकजना पर्यटक यसरी घटे ।

यो गुनासो सुनेपछि आफ्ना अनुभव सुनाउने कृषि इन्जिनियर बुद्धिनाथ तिम्सिनाको भनाइ याद आयो । उनी भन्छन्– म सन् २०१६ मा चीन सरकारको छात्रवृत्तिमा  चीनका विभिन्न सहरमा ७५ दिन लामो मौरी व्यवस्थापन तालिममा संलग्न भएँ । हाल म नेपालको एक मात्र अन्तर्राष्ट्रिय मौरी प्रशिक्षक हुँ । तालिम अवधीमा मेरो भिसा अवधि सकिएछ । अध्यागमनको कर्मचारीले ७५ दिनको सट्टा ३० दिनमा छाप लगाइदिएका रहेछन् । मलार्ई एकजना अधिकारीले साथै लिएर अध्यागमन गए । एक मिनेट ५६ सेकेन्डमा भिसा लगाइदिए । अझ ती अधिकारीले आफ्नो गल्ती स्वीकार्दै माफी पनि मागे । मलाई लाग्यो, यस्तो पो व्यवस्थपन त ।

अब यतै आउँ । विदेशीपछि पालो आयो नेपाली मूलका अस्ट्रेलियन नागरिकको । उनले सय अस्ट्रेलियन डलर दिए । फिर्ता आयो, नेपाली १५ सय रुपैयाँ । उनले लगत्तै मोबाइलमा सटही दर थिचे । त्यस दिन एक अमेरिकी डलरको नेपाली मूल्य रहेछ, १३६.९ रुपैयाँ । उनले फेरि हिसाब गरे, १०.९५ अमेरिकी डलर ।

भिसाका लागि ५० अमेरिकी डलर । फिर्ता ११ डलर । सय अस्ट्रेलियन डलरको त्यस दिनको सटही दर अनुसार ७३ अमेरिकी डलर रहेछ । उनको भिसा शुल्क र फिर्ता गर्दा जम्मा ६०.९ अमेरिकी डलर मात्र हात पर्यो । उनी माग्न गए । मेरो १२ डलर फिर्ता गर ।
हुन त उनका लागि १५,१६ सय ठूलो कुरो होइन तर आफ्नै घर आउँदा घुस ख्वाउनु परेको भन्दै दुःख व्यक्त गर्दै थिए । 

उता अध्यागमनका कर्मचारी सटही दरका कारण यस्तो भएको तर्क दिन्थे । 

अर्का एक अमेरिकीले यसै बेला थपे, केको भिजिट नेपाल नि, बरु यहाँको व्यवस्थापन सुधार गरे पर्यटकको कमी हुँदैन ।

उनले भुटानको उदाहरण दिए । निकै उमेर खाएका ती विदेशी सन् १९८० देखि नेपाल आउँदै जाँदै गर्दा रहेछन् । 

उनले भुटानको अध्यागमनमा आएको सुधारको व्याख्या गरे । उनी नेपालको पर्यटनलाई सघाउँदै आएका रहेछन् । एकछिन रमिता हेरेर घर आइयो ।