ललितपुर महानगरको कामबाट जम्मा २ जना नगरबासी सन्तुष्ट, मेयर भन्छन्–हात उठाउन लजाएका होलान्


ललितपुर । सात वर्ष महानगर हाँकिसकेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई नगरबासीले ‘फेल’ गराएका छन् । ललितपुर महानगरपालिकाले बुधबार वडा नम्बर २८ हरिसिद्धिमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा महानगरको कामप्रति सन्तुष्ट हुनेको संख्या न्यून देखिएको हो ।
सार्वजनिक सुनुवाईमा उपस्थित भएका करिब एक सय जना नगरबासीमध्ये जम्मा २ जना मात्र महानगरको अहिलेसम्मको कामप्रति सन्तुष्ट र खुसी रहेको देखिएको छ । अधिकांश उपस्थित नगरबासीले महानगरको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चालु आर्थिक वर्षमा महानगरले गरेका कामको स्थिति पत्र प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृतले स्थिति पत्र पढेर सुनाइसकेपछि उद्घोषकले महानगरको कामबाट नगरबासी कतिको खुसी र सन्तुष्ट छन् भन्ने जिज्ञासा राखेका थिए । उनले महानगरको कामबाट सन्तुष्ट हुनेहरुलाई हात उठाउन आग्रह समेत गरे । त्यस अवसरमा ‘महानगरको कामबाट सन्तुष्ट छौं’ भनेर जम्मा दुई जनाले मात्र हात उठाएको देखियो ।
महानगरको कामप्रति सन्तुष्टि व्यक्त गर्नेको संख्या न्यून देखेपछि तत्काल उद्घोषकले मेयर चिरिबाबु महर्जनलाई प्रश्न गरे । उनले भने, ‘नगरबासीमा धेरै असन्तुष्टि देखियो । जम्मा २ जनाले मात्र सन्तुष्ट छौं भनेर हात उठाउनु भयो । मेयरसाब यस बारेमा के भन्नु हुन्छ? तपाईं आफ्नो कामबाट सन्तुष्ट हुनुहुन्छ ?’ उद्घोषकको प्रश्नको जवाफ मेयर महर्जनले हाँस्दै दिए । उनले सहजै भने, ‘नगरबासी असन्तुष्ट भएर होइन्, लजाएर हात नउठाएका होलान्।’ उनले आफूले बोल्दा सम्म नगरबासीले लाजले हात नउठाएको भनेर दोहोर्याइरहे ।
सोही अवसरमा मेयर महर्जनले महानगरमा भएका कामप्रति आफूले भने ‘डिस्टिक्सन’ दिने दाबी समेत गरे । महानगरबाट थोरै समयमा धेरै काम भएको बताउँदै मेयर महर्जनले सबै नगरबासीले सोचे जस्तो भने नभएको हुन सक्ने स्वीकार गरेका छन् ।
के के विषयमा असन्तुष्ट छन्, नगरबासी?
नगरबासीमध्ये धेरैको गुनासो खानेपानी, ढल व्यवस्थापन, वातावरण प्रदुषण, रोजगारमुलक तालिम, न्यायीक समितिको काम, सहकारी समस्या समाधान लगायतका विषयमा छन् । ललितपुर महानगर वडा नम्बर १ का राजाराम तन्डुकारले काठमाडौं जिल्ला भरका सबै पालिकाले कवाडी कर उठाउने गरेको विषयमा प्रश्न गर्दै मेयर महर्जन आफैं पनि ‘उपत्यका मेयर फोरम’को संयोजक भएकाले उपत्यका भर एकीकृत रुपमा कवाडी कर उठाउनु पर्ने सुझाव दिए । उनको सुझावको प्रतिक्रियामा मेयरले यस विषयलाई आफूले आउँदो मेयर फोरमको बैठकमा प्रस्ताव गर्ने बताएका छन् । त्यसैगरी महानगरबाट हुने जुनसुकै निर्माण कार्यमा निर्माणस्थलमा सम्पूर्ण कुरा उल्लेख हुने गरी ‘पाटी’ राखिनुपर्ने सुझाव समेत तन्डुकारले दिएका छन् ।
सार्वजनिक जग्गा संरक्षण हुनुपर्ने विषयमा धेरैले गुनासो गरेका छन् । कतिपय क्षेत्रमा सार्वजनिक जमिन मिचिएको अवस्थामा नगरबासीले निवेदन लिएर महानगरमा जाँदा समेत वेवास्ता भएको धेरै नगरबासीको गुनासो छ । विद्यालयहरुमा जथाभावि शुल्क लिएको विषयमा महानगरबाट अनुगमन नभएको भन्दै गुनासो गरेका छन् । विद्यालयले लिने शुल्क के के शीर्षकमा कति कति हो खुल्ने गरी सार्वजनिक रुपमा देख्ने गरी विद्यालयले राख्नुपर्ने कानुन बनाएर कार्यान्वयनमा ल्याउन समेत नगरबासीले महानगरलाई सुझाव दिएका छन् ।
महानगरले ‘साइकल लेन’ निर्माण गरे पनि यसको लागि आवश्यक कानुन निर्माण र नागरिकलाई पनि प्रवर्द्धन गर्ने काम नगरेको गुनासो समेत नगरबासीको छ । नगरबासीले खानेपानीको शुल्क लिने तर धारामा पानी नआउने गरेको भन्दै पानी कता बेचिन्छ ? भन्ने प्रश्न समेत गरेका छन् । नगरबासी कृष्ण सिग्देलले २८ नम्बर वडाले गत वैशाख २४ गतेको निर्णय भनेर वैशाख १ गतेदेखि शुल्क लिने सूचना जारी गरेको भन्दै शुल्क कहिलेको साधारण सभाले कसरी पास गरेर कुन आधारमा लिन लागेको भन्ने प्रश्न गरे । खानेपानीकै विषयमा राजाराम तन्डुकारले महानगरमा मेलम्चीको पानी जडान गर्नुपर्ने र जडान भएको भए अब महानगर कार्यालयले जारको पानी पिउन बन्द गर्नुपर्ने बताए । उनले अब जारको पानीको बील पास नगर्न समेत अनुरोध गरे ।
सुमित्रा महत कर्मचार्यले रिङरोड भन्दा बाहिर धेरै स्थानमा फुटपाथ नभएको गुनासो गरिन् । उनले महिलाका उद्यमशील तालिम भन्नासाथ औपचारिकता मात्र निभाउने, देखिने गरिका काम मात्र गरेको भन्दै महिलाका बौद्धिक क्षमतालाई मध्यनगर गरेर रोजगार मुलक तालिम दिन आग्रह गरिन् । रोजगारमुलक तालिमकै विषयमा कृष्ण सिग्देलले पनि तालिम भनेर औपचारिकता मात्र निभाउने गरेको बताए । उनले २ दिने तालिमले कस्तो रोजगार मिल्छ ? भन्ने प्रश्न गर्दै कम्तिमा पनि एउटा मानिस रोजगार बन्न सक्षम हुने गरी २,३ महिनाको तालिम दिनुपर्ने आवश्यकता औंल्याए ।
सुमित्रा कर्मचार्यले आफूले अघिल्ला दुई वटा सार्वजनिक सुनुवाईमा समेत वायु प्रदुषण नियन्त्रण सम्बन्धी विषयमा कुरा राख्दै आएको तर अहिलेसम्म वायु प्रदुषण नियन्त्रणका लागि महानगरमा के के प्रावधान छन् र के के काम भइरहेको छ भन्ने विषयमा जानकार नभएको बताइन् । अन्य धेरै नगरबासीले अघिल्ला सार्वजनिक सुनुवाईमा राखेका विषय अहिलेसम्म सुनुवाई नभएको आरोप लगाए । केही नगरबासीले न्यायिक समितिबाट निर्णय हुने तर कार्यान्वयन नभइरहेको गुनासो गरेका छन् ।
ढल व्यवस्थापन नहुँदा सानो पानी पर्दा समेत घरभित्र ढल पस्ने गरेको गुनासो समेत धेरै नगरबासीले गरेका छन् । हरिसिद्धि क्षेत्रका बासिन्दाले ईंटाभट्टाका कारण धुलोधुँवा अत्याधिक भएको गुनासो गरेका छन् । ब्रुमरले शहरको फोहोर सफा गर्दै आएपनि महानगरको विकट ठाउँमा ल्याएर फोहोर थुपार्ने गरेको र महिनौंसम्म उक्त फोहोर नउठ्ने गरेको समेत गुनासो आएको छ । कृषि क्षेत्रलाई जोगाउनुपर्ने, फोहोर वर्गीकरणको विषयलाई कार्यान्वयन गर्नुपर्ने सुझाव समेत नगरबासीले दिएका छन् ।
महानगरका मेयर महर्जन, उपमेयर मञ्जली शाक्य बज्राचार्य, प्रमुश प्रशासकीय अधिकृत श्रेष्ठ र वडाध्यक्षहरुले आफूसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिँदै नगरबासीको जायज सुझावलाई मनन गर्दै आगामी कामकार्बाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।