बेथितिविरुद्ध जनचेतना जगाउन हेटौँडा उपमहानगरमा सडक नाटक


हेटौँडा । सामाजिक बेथिति प्रति प्रहार गर्दै समाजलाई सकारात्मक सोचका साथ अघि बढाउनका लागि हेटौँडा उपमहानगरका विभिन्न वडाहरूमा सचेतना मूलक सडक नाटक प्रस्तुत गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका र आर्जन ईन्टरटेन्टमेन्ट एन्ड एड्भरटाईजिको सहकार्यमा उपमहानगरका विभिन्न वडाहरूमा राष्ट्रिय कलाकारहरूको टोलीले वैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागु औषध दुर्व्यसनको प्रभाव र इन्टरनेटको माध्यमबाट हुने दुर्व्यवहारको बारेमा सडक नाटक मार्फत सचेतना फैलाउन खोजिएको छ ।
बुधवार हेटौँडा–१६ को जनप्रिय र १८ को ज्योति माध्यमिक विद्यालय, बिहीबार हेटौँडा–१३ को महेन्द्र र १४ को जनज्योति माध्यमिक विद्यालय, शक्रबार हेटौँडा–३ को महेन्द्र किरण माध्यमिक विद्यालय, आइतबार हेटौँडा–८ को चन्द्रोदय र १५ को चुरीयामाई माध्यमिक विद्यालयमा सडक नाटक प्रस्तुत हुने उपमहानगरले जनाएको छ ।
बिहीबार हेटौँडा– १४ को जनज्योतिमा भएको सडक नाटक नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्ययतामा भएको थियो । नाटकको समीक्षा गर्दै नगर प्रमुख लामाले समाजमा भएको बेतिथिहरूलाई यस्ता प्रस्तुति मार्फत उजागर गर्दै सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन् । हामी केवल भौतिक विकासमा मात्र केन्द्रित नभएको भन्दै नगरवासीको मानिसिक विकासका लागि पनि काम गरिरहेको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गानाकोअध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, १४ नम्बरका वडा अध्यक्ष दीपक खड्का, उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना लगायतको आतिथ्य रहेको थियो ।
सडक नाटकमा विष्णु सापकोटा (लाहुरे बा), अस्मिता बस्नेत (थुम्की), शिवहरि नेपाल (ठेकेदार), गुणाखर अधिकारी (पुछारे), युनिसा बानियाँ (चुचु) र कुवेर मोक्तान (बाख्रे) को अभिनय रहेको छ ।