Ad Image

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ४ जना पक्राउ

User Image Mayorsap | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । विभिन्न देशमा वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूमा तनहुँ भानु नगरपालिका–८ घर भई हाल तार्केश्वर नगरपालिका–४ बस्ने ४३ वर्षीय विकास गुरुङ, सिन्धुली कमलामाई नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने ३६ वर्षीया रञ्जना अधिकारी, ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ४० वर्षीय यादव प्रसाद घिमिरे र कञ्चनपुर बेदकोट नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२ बस्ने ५२ वर्षीय लोकजन खड्का छन् ।

पीडितहरूको उजुरीअनुसार, विकास गुरुङले अजरबैजान पठाइदिन्छु भन्दै दुई जनाबाट ५ लाख रुपैयाँ असुलेका थिए भने रञ्जना अधिकारीले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख रुपैयाँ लिएकी थिइन् । त्यस्तै, यादव प्रसाद घिमिरेले जापान पठाइदिन्छु भन्दै ५० हजार र लोकजन खडकाले थाइल्यान्ड पठाइदिन्छु भन्दै ४ लाख ४० हजार रुपैयाँ लिएको बताइएको छ । उनीहरू सबै रकम लिएपछि सम्पर्कविहीन भएका थिए ।

प्रहरीले मंगलबार विकासलाई काठमाडौं–१२ बाट, रञ्जनालाई काठमाडौं–१ बाट, बुधबार यादव प्रसादलाई काठमाडौं–१२ बाट र लोकजन खडकालाई काठमाडौं–३ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।