Ad Image

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । उदयपुर, धनकुटा, झापा र सिराहामा प्रहरीले पछिल्लो २४ घण्टामा ठूलो परिमाणमा अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । विभिन्न ठाउँमा खटिएको प्रहरी टोलीले गाँजा र खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–९ गैरून निवासी ४१ वर्षीया शिव माया लुङ्गेली मगरलाई प्रहरीले २ किलो ८१० ग्राम गाँजासहित बिहीबार बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले उनको घरमा तलासी लिँदा लागूऔषध बरामद गरेको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट ५१ किलो गाँजासहित सहिदभूमि गाउँपालिका–७ की २६ वर्षीया लक्ष्मी राईलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय भेडेटारले तेह्रथुमबाट ईटहरीतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४८० नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो । साथै, गाडी चालकलाई पनि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट ७६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित मेचीनगर–७ इँटाभट्टाका २५ वर्षीय घनश्याम माझीलाई बिहीबार बिहान लागूऔषध नियन्त्रण ब्यूरो, काँकडभिट्टा शाखाले पक्राउ गरेको हो ।

सिराहाको भगवानपुर गाउँपालिका–१ कल्याणपुरबाट करिब ३० किलो ९५५ ग्राम गाँजासहित ४२ वर्षीय काशिन्दर राम र ५० वर्षीय अशेश्वर रामलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय महेशवारीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। ।

सबै घटनाहरूमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।