Ad Image

आयुर्वेद चिकित्सा पद्धतिलाई प्रोत्साहन गर्दै शिवसताक्षी नगरपालिका, उपचारमा शुल्क नलाग्ने

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Shivasatakshi-Municipality.jfif

झापा । आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताए । नगरपालिकाले उपचार निःशुल्क गराउन शिवसताक्षी–११ दूधेस्थित नगर आयूर्वेद औषधालयलाई वार्षिक रूपमा रु २० लाख बजेट दिइरहेको छ ।    

जिल्लाकै पुरानोमध्येको यहाँको आयुर्वेद औषधालयमा कविराजसहित पाँच जना कर्मचारीको दरबन्दी रहेको छ । नियमित रूपमा बिरामी जाँच्ने र औषधि वितरणको चिकित्सा सेवासहित औषधालयले पञ्चकर्म थेरापी लगायतका सुविधा प्रदान गरिरहेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीपछि स्थानीयबासी आयुर्वेद चिकित्सा पद्धतिप्रति बढी आकर्षित भएको औषधालयका कविराज राजेन्द्र पोखरेल बताउँछन् । “पहिले पहिले मानिसहरु त्यति धेरै आउँदैनथिए,” उनी भन्छन्– “जब कोरोनाले सारा दुनियाँ तर्सायो, त्यसपछि मानिसहरु आयुर्वेदको औषधि खोज्दै धाउन थाले । अहिले त सेवाग्राहीको चाप बढ्दो अवस्थामा छ ।”

दैनिक ५० जनासम्म ओपिडी सेवामा मानिसहरु आउन थालेको र सीमित जनशक्तिले उपचार प्रदान गर्न मुस्किल हुन थालेको पोखरेलले बताए । चालू आर्थिक वर्ष २०८१/८२ को दश महिनामा शिवसताक्षी आयूर्वेद औषधालयबाट चार हजार ४० जनाले उपचार सेवा लिइसकेका छन् । वहिरङ्ग विभाग (ओपिडी)मा दुई हजार ५४७ र अन्यत्रबाट रेफर भएर एक हजार २३७ जना बिरामीले उपचार सेवा लिएको उनले जानकारी दिए । 

औषधालयमा सुविधासम्पन्न प्रयोगशाला रहेको छ । जहाँ दश महिनामा १२२ जनाले सेवा लिएका छन् । त्यहाँ सञ्चालित पञ्चकर्म थेरापी सेवा १३३ जनाले लिएका छन् । औषधालयले गाउँघर क्लिनिकमार्फत सोही अवधिमा ४४१ जना बिरामीलाई घरआँगनमै सेवा प्रदान गरेको जनाएको छ ।

नगरपालिकाले आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएकाले औषधालयलाई नगर आयूर्वेद अस्पतालको रूपमा विकास गर्न आवश्यक रहेको नगरप्रमुख थोप्रा बताउँछन् । सुविधासम्पन्न भवन नहुँदा र सीमित जनशक्ति हुँदासमेत औषधालयले पुर्याएको उपचार सेवा प्रशंसनीय रहेको उनको भनाइ छ । 

पछिल्लो समय स्तनपान गराइरहेका सुत्केरी महिला आफ्नो र शिशुको लाभका लागि आयुर्वेद पद्धतिमा आधारित दुग्धवर्द्धक औषधिप्रति आकर्षित भइरहेका छन् । बिगत दश महिनामा १८९ जना महिलाले दुग्धवद्धक औषधि लगेर सेवन गरेका छन् ।

सबैलाई लाग्ने रोग भनेर चिनिएको मधुमेह, पायल्स, ग्यास्ट्रिक, बाथलगायतका बिरामीले आयुर्वेद औषधालय धाएर नियमित स्वास्थ्य परीक्षण गर्ने र औषधि लैजाने गरेको कविराज पोखरेल बताउँछन् ।  
यहाँको आयुर्वेदालयले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरका ८८ जना ज्येष्ठ नागरिकले नियमित रूपमा औषधालयमा धाएर स्वास्थ्य परीक्षण र औषधि खाइरहेका छन् ।

नगर आयुर्वेद अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि औषधालयमा नयाँ सुविधासम्पन्न भवन र थप जनशक्तिको आवश्यक पर्ने र योग ध्यान हल, फिजियोथेरापी, एक्यूपञ्चर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्यावलगायतका नयाँ प्रविधियुक्त सेवा भित्र्याउन आवश्यक रहेको स्थानीयवासी सरोज भट्टराई बताउँछन् ।