गलत काम भएको दिनदेखि म राजनीतिमा देखा पर्दिनँ: गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू गृहमन्त्रालयमा आएदेखि गलत भएको पुष्टि भए राजनीतिमा देखा नपर्ने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले त्यसको खण्डन गर्दै यस्तो बताएका हुन् ।
शनिबार धनुषामा पार्टी कार्यकर्ताहरूसँगको छलफल क्रममा गृहमन्त्री लेखकले आफूविरूद्ध उठेका विषयहरूमा आँत्तिनुपर्ने कारण नरहेको समेत बताए । उनले भने, ‘यसमा साथीहरू आँत्तिनुपर्ने कुनै कारण छैन। जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ। उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ ।’
गृहमन्त्री लेखकले ती विषयहरू कहाँबाट कसरी भए भन्ने विषयमा आफूले बुझिरहेका कारण चुप लागेर बसेको बताए । उनले यस विषयमा गृहमन्त्रालयबाट विज्ञप्ति निकाल्ने र केही दिनमा आफैं बोल्ने समेत बताए ।
अध्यागमन कार्यालयका कर्मचारीले मोटो रकम लिएर मानिसलाई विदेश पठाएको विषयमा अख्तियारले छानबिन गरेपछि गृह मन्त्रालयले बिहीवार विमानस्थलका ८ जनालाई सरुवा गरेको थियो ।