भिजिट भिसा प्रकरणमा रास्वपाले भन्यो– गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्छ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका उनलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेको हो ।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ कार्यवाहक प्रवक्ता मनीष झाले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं।’
गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।