वडा अध्यक्षका अभिव्यक्ति नियन्त्रणमा बालेनः मानन्धरलाई माफी मागेर उत्तर पेश गर्न सोधियो स्पष्टिकरण


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई मेयर बालेन शाहको सचिवालयले ७ दिने स्पष्टीकरण सोधेको छ । स्पष्टिकरण सोध्ने एउटै कारण भनेको मानन्धरले मिडियाहरुमा काठमाडौं महानगरहरुमा भएका गतिविधिहरुबारे जानकारी दिएका छन् ।
केही अघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा प्रवेश गर्न मेयर बालेनको निर्देशनविपरीत सहयोग गरेका मानन्धर मेयर बालेनको नजरमा बलियो विपक्षी बनिसकेका थिए । पछिल्लो समय तिनै प्रशासकीय अधिकृत गुरागाईँले उनलाई कार्यालयमा प्रवेश गर्न असहयोग गर्ने काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेपछि भित्रभित्रै मानन्धरलगायतको टिमले सहयोग गरेको मेयर बालेनको बुझाइ छ ।
अझ मानन्धरले मिडियामा यी विषयहरुका साथै पछिल्लो सयम बजेट निर्माणमा बालेनले काम नगरेको भन्दै बोलेका विषयले मेयर बालेनलाई अझ ‘पोलेको’ देखिन्छ । त्यही कारण मानन्धरलाई बालेनको सचिवालयमार्फत स्पष्टिकरण सोधिएको अनुमान मानन्धरको छ ।
मेयर बालेनको सचिवालयले यही जेठ ८ गते सोधेको उक्त स्पष्टीकरण पत्रमा मानन्धरले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले बालेनको व्यक्तिगत चरित्र, प्रतिष्ठा र निजी जीवनमा आँच पुर्याएको आरोप लगाइएको छ ।
मेयर बालेनको सचिवालयले पठाएको पत्रमा मानन्धरको अभिव्यक्ति आधारहीन, अनौपचारिक, अमर्यादित र आपत्तिजनक भन्दै गम्भीर आपत्तिसमेत जनाइएको छ । उक्त पत्रमा भविष्यमा यस्ता गल्ती नगर्ने सर्तसहित लिखित माफी माग्न भनिएको छ । साथै मानन्धरको अभिव्यक्तिलाई लिएर फौजदारी मुद्दा समेत लाग्न सक्ने भन्दै सचेत गराइएको छ ।
मेयससाप डटकमलाई प्रवक्ता मानन्धरले मिडियाले सोधेका प्रश्नको जवाफ दिँदा आफूमाथि स्पष्टिकरण सोधिएको बताएका छन् । “पत्रकारको प्रश्नमा मैले सामान्य जवाफ दिएको हुँ । मैले कुनै मानहानी हुने कुरा बोलेको जस्तो लाग्दैन। मैले सधैं मेयरलाई साथ दिएको छु’, मेयससाप डटकमसँग बोल्दै मानन्धरले भने, ‘सुकुम्वासी, खोलाको किनार संरक्षण र फुटपाथ व्यवस्थापन जस्ता विषयमा निरन्तर काम गर्दै आएको छु ।”
मानन्धरले मेयर बालेनसँग व्यक्तिगत सम्बन्ध नबिग्रिएको बताए । उनले भने, “मेयरसँग सम्बन्ध बिग्रेको छैन् । उहाँ पालिकामा हुनुहुन्छ । हामी वडा कार्यालयमा बस्छौं । उहाँले सूचना प्रविधि समितिबाट मलाई हटाउने निर्णय पनि आफैं गर्नुभयो, मैले त्यो माग गरेको थिइनँ। अहिले फेरि लिखित माफी माग्न पत्र आएको छ ।”
मानन्धरले स्पष्टीकरण पत्र बुझाउने वा नबुझाउने भन्ने निर्णय नगरेको बताउँदै यस विषयमा साथीभाई र पार्टी नेताहरूसँग सल्लाह गरेर मात्र निर्णय लिने बताएका छन् । “पत्रको जवाफ के गर्ने ३ दिनपछि मात्रै थाहा हुन्छ । यो व्यक्तिगत मात्रै होइन, राजनीतिक विषय पनि हो। सबैसँग सल्लाह गरेर मात्र निर्णय गर्छु,” उनले भने ।
गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराएको विषयमा मानन्धर चर्चामा आएका थिए । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा खटिएको नगर प्रहरीले गुरागाईंलाई रोक लगाएपछि मानन्धरसहितका केही जनप्रतिनिधिहरू भने गुरागाईंको पक्षमा उभिएका थिए । जसले गर्दा प्रवक्ता मानन्धर र मेयर बालेनबीच मनमुटाव सुरु भएको धेरैको बुुझाई छ ।
मानन्धर पनि यो घटनाकै कारण मेयरसँग सम्बन्धमा दरार आएको बुझाईमा छन् । “नगर प्रहरीले नरोकेको भए हामी जानै पर्दैन थियो। नगर प्रहरी प्रवेश नगराउने तिर लाग्यो’, मानन्धरले भने, ‘हामी समस्या समाधान गर्न लाग्यौं । समस्या समाधान गर्ने निकाय प्रमुख प्रशासकीय अधिकृत नै हो भन्ने हाम्रो मान्यता हो।”