मार्कोपोलो होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन, अध्यक्ष ढकालले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको हात्तीसारमा रहेको मार्कोपोलो होटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शनिवार होटलको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा अध्यक्ष ढकालले पर्यटन क्षेत्र नेपालको प्रमुख सम्भावनायुक्त क्षेत्र भएको बताउँदै विदेशमा रहेका नेपालीहरू समेत संलग्न भएर सुरु भएको यो परियोजना आशाको एक सकारात्मक संकेत भएको बताए। कम्पनीका अध्यक्ष यमलाल कँडेलले देशभित्र र बाहिरका लगानीकर्ताको सहकार्यमा होटल सञ्चालनमा ल्याएको जानकारी दिए।
इन्द्रेणी मल्टिप्रपोज इन्भेष्टमेन्ट कम्पनीले सात महिनाअघि देखि होटलको व्यवस्थापनको जिम्मा लिएको थियो । होटलको मर्मत–संभार तथा नयाँ ‘लुक्स’ दिनका लागि मात्रै करिब ७ करोड रुपैयाँ खर्च भएको बताइएको छ।
होटलमा ६० जनासम्म अटाउने सभा हल निर्माण गरिएको छ । ‘रूफटप रेस्टुराँ’ होटलको प्रमुख आकर्षणको रूपमा तयार पारिएको छ । होटलका डिलक्स र स्वीट कोठाको भाडादर ४ हजारदेखि ८ हजारसम्म रहने बताइएको छ ।