गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्र*मणमा ५२ जनाको मृ*त्यु

एजेन्सी । गाजामा शरणार्थीहरु बसोबास गरिरहेको एक विद्यालयलगायतका स्थानमा सोमवार भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।
गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले विद्यालयमा भएको आक्रमणमा कम्तिमा ३३ जना मारिएका र उनीहरुमध्ये अधिकांश बालबालिका भएको जानकारी दिए । उनका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल–जरजावी स्कूल’मा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएका छन् ।
त्यसैगरी, उत्तरी गाजा पट्टीको जबालिया शहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी आज बिहान लडाकू विमानले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बासलले बताए ।
इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा दशौं हजार पूर्व सैनिक तथा सुरक्षकर्मीलाई सक्रिय बनाएको छ।
गाजा पट्टीमा लगभग तीन महिनाको मानवीय आपूर्तिको नाकाबन्दीपछि हिंसाको तीव्रताले इजरायलविरूद्ध अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको छ ।
गत हप्ता म्याड्रिडमा विश्वका नेताहरूले युद्धको अन्त्यका लागि आह्वान गरेका थिए भने मानवीय संस्थाहरूले उपलब्ध सहायताले गाजामा भोक र स्वास्थ्यको सङ्कट रोक्न पर्याप्त नभएको बताएका छन् ।
इजरायली सेनाले ‘फाहमी अल–जरजावी’ स्कूलमा हमास र इस्लामिक जिहादको कमान्ड र नियन्त्रणको केन्द्रभित्र काम गर्ने प्रमुख आतङ्ककारीहरूलाई आक्रमण गरेको बताएको छ ।