Ad Image

लुम्बिनी प्रदेश सरकार र ७ स्थानीय तहबीच नवप्रवर्तन सम्बन्धी सम्झौता

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/lumbini pra.PNG

रुपन्देही। लुम्बिनी प्रदेश सरकार र प्रदेशका विभिन्न जिल्लाका सात वटा स्थानीय तहबीच नवप्रवर्तन सम्बन्धी सम्झौता भएको छ । मंगलवार लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सम्झौता भएको हो ।

अब सम्झौता अनुसार पाल्पाको तानसेन नगरपालिकामा ‘तानसेन उद्यमशीलता तथा पर्यटन विकास कार्यक्रम’ सञ्चालन हुनेछ । त्यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिकामा दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारी स् कृषिको रुपान्तरणमा हामी सबैको साझेदारी कार्यक्रम सञ्चालन हुनेछ ।

रुपन्देहीको मायादेवी गाउँपालिकामा ‘स्मार्ट मायादेवी’, प्युठानको सरुमारानी गाउँपालिकामा ‘डिजिटल विद्यालय कार्यक्रम’, नवलपरासी पश्चिमको रामग्राम नगरपालिकामा ‘पर्यटन होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम’, गुल्मीको छत्रकोट गाउँपालिकामा ‘सूचना प्रविधिमैत्री शिक्षा’ र रुपन्देहीकै शुद्धोधन गाउँपालिकामा ‘विद्युतीय सुशासनका लागि ई–सिफारिस सर्भिस सेन्टर’ कार्यक्रम सञ्चालन हुनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरण र प्रदेशलाई आत्मनिर्भर तथा सक्षम बनाउने उद्देश्यले नवप्रवर्तन योजना लागू गरेको जानकारी दिए ।

नागरिकको जीवनस्तर उकास्न नवप्रवर्तन कार्यक्रम प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्दै कृषिमा रुपान्तरण, उद्यमशीलता र पर्यटन प्रवर्द्धन, सूचना प्रविधिको अधिकतम उपयोग, विद्यालय शिक्षाको गुणस्तर सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन ई–सिफारिस सेवा जस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइएको मुख्यमन्त्री आचार्यले बताए ।