गृहमन्त्री लेखकले राजीनामा नदिने, संसद्मा जवाफ दिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकलगायतको छलफलमा गृहमन्त्रीले राजीनामा नदिने निष्कर्ष निकालिएको छ । भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्रीसँग कांग्रेसले गरेको छलफलमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिएको हो ।
गृहमन्त्रीमाथि छानबिन समिति समेत नबन्ने छलफलको निष्कर्ष रहेको बुझिएको छ ।
छलफलमा बुधवारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले आफूमाथि लागेका प्रश्नको जवाफ दिने सहमति भएको छ । उक्त छलफलपछि प्रधानमन्त्री ओलीले संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । भिजिट भिसा प्रकरण, बिहीवार सरकारले संसद्मा पेस गर्ने बजेट लगायत विषयमा छलफल गर्न प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठककै बीचमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नको जवाफ दिने वातावरण बनाइदिन फोन गरेर आग्रह गरेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री र कांग्रेसबीचको छलफल लम्बिएपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । मंगलवारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो ।