Ad Image

बजेटमा कर्णालीः पुराना योजनालाई नै निरन्तरता, जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा जोड

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bishnu.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णाली प्रदेशका लागि जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा बजेट विनियोजन गरेको छ । बजेटमा पुराना योजनामा बजेट थप गरेर कामको निरन्तरता दिएको छ । 
 
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्षभित्र कर्णालीको विद्यमान विद्युत् समस्या हल गर्नेगरी काम गरिने बताए । बजेटमा विद्युत् समस्याको दीर्घकालीन समाधान गर्न कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ । 
 
बजेटमा आगामी वर्ष कर्णालीमा कार्यान्वयन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई तीव्रता दिइने उल्लेख छ । भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स र पावर हाउस दुई वर्षभित्र सम्पन्न गर्न रु दुई अर्ब सात करोड बजेट विनियोजन गरिएको छ । कर्णाली कोरिडोरका लागि रु एक अर्ब २७ करोड बजेट व्यवस्थापन गरिएको छ । मुगुको ताल्चा विमानस्थलदेखि रारासम्मको सडकलाई स्तरोन्नति गरिने भएको छ ।
 
सरकारले कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि रु ५४ करोड बजेट व्यवस्थापन गरेको छ । प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा रु ६० करोड विनियोजन गरिएको थियो । जुम्लामा हाइअल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माणलाई सरकारले निरन्तरता दिने भएको छ । 
 
सुर्खेतको भेरी पम्पिङ खोनेपानी आयोजना आगामी दुई वर्षमा सम्पन्न गर्न रु एक अर्ब ३२ करोड विनियोजन गरिएको छ । निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या–पर्यटन पदमार्गहरुको विकास गरिनेछ । लुम्बिनीको बर्दियादेखि कर्णालीको रारासम्म पदयात्रा सञ्चालन गर्नुका साथै रारा पर्या–पर्यटन पदमार्ग विकास गरिने बजेटमा उल्लेख छ । 
 
कर्णालीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गरिनेछ । पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकका आकर्षक स्थलमा पर्यटन पूर्वाधारको विकासमा जोड दिँदै कर्णाली, भेरी प्रमुख नदीहरुमा ¥याफ्टिङलगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । सुर्खेतमा प्रदेशिक विमानस्थलको पूर्व तयारी सम्पन्न गरी निर्माण थालनी गरिने छ । 
 
प्रत्येक प्रदेशमा एक–एक प्राविधिक शिक्षालय छनोट गरी नमुना शिक्षालयमा स्तरोन्नति गरिनेछ । साधारण विद्यालयका प्राविधिक धारका विद्यार्थीले सीप विकासका लागि त्यस्ता शिक्षालयको पूर्वाधार सुविधाको उपयोग गर्न सक्ने छन् । सातै प्रदेशमा मुटु तथा क्यान्सर रोगको उपचार विस्तार गरिनेछ । सबै प्रदेशका एक÷एक वटा सरकारी अस्पतालमा विशिष्टीकृत जलन उपचार विभाग सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ । 
 
नलगाड, फुकोट कर्णाली, उत्तरगंगा र मुगु कर्णालीलगायतका आयोजनाका लागि लगानी ढाँचा निर्धारण गरी निर्माण कार्य आरम्भ गरिने छ । नदी कटान, डुवान तथा पहिरोको जोखिम व्यवस्थापन गर्न कर्णाली नदीमा नदी नियन्त्रण कार्यक्रम सञ्चालन हुनेछ । आगामी आर्थिक वर्षमा कर्णाली कोरिडोरको हिल्सा–सिमकोट तथा खुलालु–पिलुचौर–तुम्च खण्डको सड़क स्तरोन्नति गरिने भएको छ । कर्णाली कोरिडोरको लागि रु एक अर्ब २७ करोड बजेट व्यवस्था गरिएको छ । 
 
कर्णाली राजमार्गअन्तरगत सुर्खेत–खुलालु–कालीकोट–जुम्ला सडक र सुर्खेत–महाबुलेक–नाग्मा–गमगढी सडकलाई स्तरोन्नति गर्न बजेट व्यवस्था गरिएको छ । ताल्चा–रारा सडक कालोपत्रे गर्न बजेट बिनियोजन गरिएको छ । रणनीतिक तथा व्यापारिक महत्वका भेरी कोरिडोर सडकको स्तरोन्नति गरिने भएको छ । बबई छिन्चुमा सुरुङ मार्ग निर्माण गर्नका लागि स्रोत व्यवस्थापन र अन्य तयारी गर्ने बताएको छ ।