गाजा युद्दको ६ सय दिन: ५४ हजार बढीको मृ*त्यु, लाखौं भोकमरीमा


एजेन्सी । इजरायल र हमासबीच जारी युद्धको ६ सय दिन पूरा भएको छ ।
बिगत ६०० दिनदेखि मध्यपूर्व रगत, आँसु र विनाशको अन्धकारमा डुबेको छ । एउटा द्वन्द्व, जुन दुई पक्षबीचको लडाइ मात्र होइन, लाखौं निर्दोष जनताको बाँच्ने अधिकार माथिको हनन् हो ।
७ अक्टोबर २०२३ मा सुरु भएको यो संघर्षले अहिले ६ सय दिन पार गरिसकेको छ । यो हिंसाले सामान्य जनजीवनलाई यति गहिराइमा पुर्याउनेछ भन्ने सायद विश्वले कल्पना पनि गरेको थिएन ।
तथ्यांकको कुरा गर्दा मृत्यु हुनेको संख्या ५४ हजारभन्दा बढी छ भने घाइतेको संख्या लाखौं नाघेको छ । गाजामा इजरायलको युद्ध सुरु भएदेखि कम्तिमा ५४ हजार २४९ प्यालेस्टाइनीहरू मारिएका छन् । १ लाख २३ हजार ४९२ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा उल्लेख छ । इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः शत्रुता सुरु गरेदेखि ३९८६ प्यालेस्टाइनीहरूलाई मारेको छ र ११ हजार ४५१ घाइते भएका छन्। मन्त्रालयले थपेको छ कि बितेका २४ घण्टामा गाजा अस्पतालमा ६७ शव र १८४ घाइते जम्मा भएका छन्।
केही महिना अघि सीमाना पूर्ण रूपमा सिल गरिएको थियो । न खाना, न औषधि, न राहत वितरण गर्न सकिएको छ । यहाँ मानिस बाँच्नको लागि हरेक दिन संघर्ष गरिरहेका छन्।
रिपोर्टका अनुसार अवस्था यति खराब बनेको छ कि मानिसहरूले फोहोरको थुप्रोमा खाना खोज्न बाध्य छन्। छोराछोरीलाई बचाउन एउटी आमाले पोलेको भात र सुकेको रोटी उमालेर खुवाउने प्रयास गरिरहेकी छिन् । यो भोकमरीको दृश्य मात्र होइन, यो ठूलो विनाशको दृश्य हो।