राउटे युवतीलाई अंगालो हालेर भिडियो बनाउने शाही पक्राउ


काठमाडौं । राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिकाका—३, का २८ वर्षीय टोपेन्द्र शाही रहेको प्रहरीले जनाएको छ । शाहीलाई राउटे युवतीसँग गुडिरहेको ट्रकमा गलत नियतसहित दुर्व्यवहारपूर्ण भिडियो खिचेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
केही दिन चार जना राउटे युवतीलाई ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको थियो । भिडियोमा चारजना राउटे युवतीका बीचमा बसेका शाहीले उनीहरुमाथि दुर्व्यवहार गरेको देख्न सकिन्छ । उनीसँग बस्न राउटे युवतीहरुले असहज मानिरहेका छन् । भिडियोमा शाहीले युवतीहरुलाई अंगालो हालेर दुर्व्यवहारपूर्ण शब्द बोलेको छन् । १५ सकेन्ड लामो उक्त भिडियोको अहिले आलोचना भइरहेको छ ।
भिडियो सार्वजनिकपछि राउटे समुदायको हकहितका लागि काम गर्दै आइरहेको सोसक नेपालले सुर्खेत प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा भिडियोमा देखिएका शाही पक्राउ परेका हुन् । शाहीलाई कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट पक्राउ गरिएको र त्यसपछि सुर्खेत पठाइदिएको दैलेख प्रहरीले जनाएको छ ।