Loading...
Ad Image

प्रधानमन्त्री ओली आज मधेश जाँदै, एकैपटक ६४ सडकको शिलान्यास गर्दै

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp-olizz.jpg

जनकपुर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदै छन् ।  एकैपटक ६४ वटा सडक शिलान्यास गर्न प्रधानमन्त्री ओली मधेश प्रदेश जाने भएका हुन् । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज एकैपटक ६४ वटा पक्की सडकहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । 

प्रधानमन्त्री ओलीले जनकपुरधामस्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकैपटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रका पाँच किलोमिटरको एक÷एक सडक गरि ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताए ।

कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरि वहुवर्षिय खरिद गुरुयोजनाहरु स्वीकृत भई डिपिआर समेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाइ भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ।

मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमिटर वृहत् सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताए ।  

प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलीय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहले बताए ।