Loading...
Ad Image

यस्तो छ पञ्जाब र मुम्बईबीच सम्भावित विजेता र रणनीति

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mumbai-panjab.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत आज दोस्रो क्वालिफायरमा पन्जाब किङ्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन् । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

यो खेलको विजेता टोली उपाधि भिडन्तका लागि मङ्गलबार रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

पन्जाबको ऐतिहासिक लक्ष्य
श्रेयस अय्यरको कप्तानीमा रहेको पन्जाब किङ्स यस पटक उपाधिको नजिक पुगेको छ । लिग चरणको शीर्ष स्थानमा रहँदै क्वालिफायर १ मा बैंगलोरसँग पराजित भएको पन्जाबलाई आज फाइनल पुग्ने दोस्रो अवसर मिलेको हो । मुम्बईविरुद्ध लिग चरणमा ७ विकेटको जित दिलाएको अनुभवलाई दोहोर्‍याउने पन्जाबको प्रयास हुनेछ । सन् २०१४ पछि पहिलो पटक फाइनल यात्रा गर्ने तयारीमा रहेको पन्जाबले यस पटक उपाधि जित्ने सपना देखेको छ ।

मुम्बईको पुनरागमन मिसन
पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स यो सिजन पुनः आफ्नो प्रभाव जमाउन चाहन्छ । लिग चरणमा चौथो स्थानमा रहेर एलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको मुम्बई हार्दिक पाण्ड्याको नेतृत्वमा छैटौँ उपाधि यात्रातर्फ अग्रसर छ । अघिल्लो सिजनमा लिगबाटै बाहिरिएको मुम्बई यस पटक उपाधि पुनः जित्ने योजनामा छ ।

आजको खेल दुवै टोलीका लागि निर्णायक हुनेछ भने पन्जाबका लागि पहिलो उपाधि यात्राको ढोका खोल्ने अवसर, मुम्बईका लागि इतिहास दोहोर्‍याउने सम्भावना हुनेछ ।

को हुन्छ सम्भावित विजेता?
हालको फर्म, अनुभवी खेलाडीहरूको उपस्थिति, पिचको अनुकूलता, र ऐतिहासिक प्रदर्शनलाई हेर्दा मुम्बई इन्डियन्सको जितको सम्भावना बढी देखिन्छ । विशेष गरी जसप्रीत बुमराहको डेथ ओभरमा बलिङ प्रभावशाली देखिएको छ ।

मुम्बईले एलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै क्वालिफायर २ मा प्रवेश गरेको छ, जसले टोलीमा आत्मविश्वास बढाएको छ । रोहित शर्मा, सूर्यकुमार यादव, जसप्रीत बुमराह, र हार्दिक पाण्ड्या जस्ता अनुभवी खेलाडीहरू मुम्बईको लागि निर्णायक हुन सक्छन् । तर क्रिकेट अनिश्चितताको खेल हो, पन्जाब किंग्सले पनि उत्कृष्ट प्रदर्शन गर्न सकेमा नतिजा उल्टिन सक्छ ।

नरेन्द्र मोदी स्टेडियमको पिच उच्च स्कोरिङ खेलहरूका लागि परिचित छ । पहिलो इनिङ्सको औसत स्कोर २ सय रन माथि रहेको छ । यस्तो पिचमा मुम्बईको बलियो ब्याटिङ लाइनअपलाई फाइदा पुग्नेछ ।

यता पन्जाब किंग्सले लिग चरणमा राम्रो प्रदर्शन गरे पनि, प्लेअफको दबाबमा उनीहरू कमजोर देखिएका छन् । कप्तान श्रेयस अय्यरमाथि टोलीलाई प्रेरित गर्ने जिम्मेवारी छ, तर युवा खेलाडीहरूको अनुभवको कमी चुनौतीपूर्ण हुन सक्छ ।
पन्जाबले लिग चरणमा शीर्ष स्थान हासिल गरेको थियो, जसले उनीहरूको क्षमता देखाउँछ । अर्शदीप सिंह र युजवेन्द्र चहलको बलिङ आक्रमण मुम्बईका ब्याट्सम्यानहरूलाई चुनौती दिन सक्छ ।

दुवै टोलीबीचको हेड–टु–हेडमा मुम्बईले १७ खेल जितेको छ भने पन्जाबले १६ खेल जितेको छ । यो तथ्यले पनि मुम्बई जित्न सक्ने कतिपयको भनाइ छ ।

हालको फर्म, अनुभव, र ऐतिहासिक तथ्यांकहरूलाई आधार मान्दा मुम्बई इन्डियन्सको जित्ने सम्भावना थोरै बढी देखिन्छ । तर, पन्जाब किङ्सको युवा ऊर्जा र बलिङ आक्रमणले खेललाई कुनै पनि दिशामा मोड्न सक्छ । आजको खेल अत्यन्तै रोमाञ्चक र अनिश्चित हुनेछ ।