स्वास्थ्यमन्त्रीले भने– म मन्त्री भएपछि जनस्वास्थ्य प्रयोगशालामा ५० प्रतिशत रोगको परीक्षण हुन्छ


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्ने गरी क्षमता वृद्धिमा लागिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनस्वास्थ्य प्रयोगशालामा आफू मन्त्री बनेपछि ५० प्रतिशत रोगको परीक्षण हुने परिस्थिति बनेको बताए ।
उनका अनुसार, आफू मन्त्री हुनु अगाडि जनस्वास्थ्य प्रयोगशालामा २० प्रतिशत मात्रै परीक्षण हुन्थ्यो । उनले निजी अस्पतालले पनि उक्त प्रयोगशालामै परीक्षण गर्ने वातावरण निर्माण भइरहेको बताए । स्वास्थ्यमन्त्री पौडेलले अब मुलुक बाहिर पठाउन नपर्ने गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै परीक्षण हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको बताए । उनले बिग्रिएर फालिएका ५५ प्रतिशत उपकरण राष्ट्रिय आविष्कार केन्द्रमा मर्मतपछि सञ्चालनमा आइरहेको पनि जानकारी दिए ।