डोनाल्ड ट्रम्प र एलन मस्कबीच वादविवाद

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका मालिक एलन मस्कबीच वादविवाद भएको छ । ट्रम्पले मस्कको कम्पनीसँग सरकारी सम्झौता रद्द गर्ने धम्की दिएपछि मस्कले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउनुपर्ने बताएका छन् ।
ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा सरकारको अर्बौं डलर बचाउन एलनका सरकारी अनुदान र सम्झौताहरू रद्द गर्ने बताएका थिए। ट्रम्पले त्यसो भनेपछि टेस्लाको शेयर १४ प्रतिशतले घटेको र कम्पनीको बजार मूल्यमा करिब १५० अर्ब डलरको क्षति पुगेमो थियो। रोयटर्सका अनुसार यो टेस्लाको इतिहासमा एकै दिनको सबैभन्दा ठूलो गिरावट हो।
ट्रम्पले अनुदान कटौती गर्ने भनेपछि मस्कले ट्रम्पविरूद्ध महाभियोग लगाउनुपर्ने बताएका छन्। उनले त्यो कुरा सिधै नभने पनि महाभियोग लगाउनुपर्ने उल्लेख गरी एक प्रयोगकर्ताले एक्समा गरेको पोस्टलाई ‘हो’ भनेर रिपोस्ट गरेका थिए।
ट्रम्पले भनेका छन्, ‘मस्कसँग मेरो राम्रो सम्बन्ध थियो । अब उनीसँगको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने मलाई थाहा छैन । म एलन मस्कबाट निकै निराश भएको छु । मैले उनलाई धेरै सहयोग पनि गरेको थिएँ ।’
मस्कले ट्रम्पलाई आफूले राष्ट्रपति बनाएको समेत दाबी गरेका छन्। ‘म बिना ट्रम्पले चुनाव हार्थे’ मस्कले भनेका छन्। ट्रम्पको धम्कीपछि मस्कले स्पेसएक्सको ड्र्यागन अन्तरिक्ष यानको सञ्चालन बन्द गर्ने बताएको पनि रोयटर्सले लेखेको छ।
मस्क एक साताअघि मात्रै ह्वाइट हाउसबाट बाहिरिएका थिए। डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुखका रूपमा उनको कार्यकाल सकिएपछि गत शुक्रबार उनले ह्वाइट हाउसमा आफ्नो अन्तिम दिन बिताएका थिए।
मस्कले अब अमेरिकामा नयाँ राजनीतिक दल खोल्नुपर्ने बताउँदै त्यसमा मानिसहरुको राय मागेका छन्।