Ad Image

वाईसीएल सम्मेलन: भएन निर्वाचन, सहमति जुटाउन प्रचण्डकै सिधा हस्तक्षेप

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ycl-sammelan.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को सम्मेलनले नयाँ कार्यसमिति आज पनि छान्न सकेकाे छैन । तीन दिनमा टुग्याउनेगरी आयोजना भएको वाईसीएलकाे राष्ट्रिय सम्मेलनमा पदाधिकारीका आकांक्षी धेरै भएपछि विवाद गएकाे चार दिनदेखि उत्कर्षमा छ ।

सहमतिमा पदाधिकारी चयन नभएकाले निर्वाचनमार्फत पदाधिकारी चयन गर्नुपर्ने अधिकांश सहभागी सदस्यहरूकाे माग छ । तर केन्द्रीय नेतृत्व आफ्ना नजिकका व्यक्तिहरूलाई वाईसेलकाे पदाधिकारी बनाउन कम्मर कसेर लाग्दा अधिकांश सदस्यहरुले चित्त दुखाएका छन् । अधिकांश सदस्यहरू निर्वाचनकाे पक्षमा रहँदा निर्वाचन तालिका सार्वजनिक गर्दै फेरि सार्दै सम्मेलन इन्जार्ज रामप्रसाद सापकाेटा दिपशिखाले लम्ब्याइरहेका छन् ।

आज शुक्रबार हुने भनिएको निर्वाचन पनि राेकेर पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा टुंग्याउन ठाडाे निर्देशन नै दिएका छन् । एक पदाधिकारीका अनुसार प्रचण्डले सिधै व्यक्तिकाे नाम नै ताेकेर पदाधिकारीमा राख्न निर्देशन आएकाे भनेर इन्चार्ज दिपशिखाले सम्मेलनमा सहमति गर्न दवाव दिएका छन् । सम्मेलन लम्बिनुमा माओवादी पार्टीभित्र माैलाइरहेकाे जनार्दन शर्मा, वर्षमान पुनलगायतका गुटकाे भूमिका रहेकाे प्रचण्डले बुझेकाले नामै किटान गरेर पठाएको निकट स्राेत बताउँछ ।

प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा वाईसीएलको सम्मेलनबारे छलफल भएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । स्राेतका अनुसार वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र अध्यक्ष सुवोध शेर्पालीलाई उम्मेदवारका आकांक्षी सबैसँग छलफल गरेर अनुभवदेखि शैक्षिक क्षमतासम्मकाे एउटा रिपोर्ट तयार गरेर पेश गर्न प्रचण्डले निर्देशन दिएकाे सर्कुलर अहिले सम्मेलनमा छाएको छ । उता  प्रचण्डले सर्वसम्मत नेतृत्वमा अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम पठाएको स्रोतको दाबी छ । सर्वसम्मत वाईसीएलको नेतृत्वका लागि प्रचण्डले अध्यक्षमा पुष्प ओली, उपाध्यक्षमा नवराज ऐर र डम्बर पुलामी तथा महासचिवमा गणेश शाहीको नाम पठाएको स्रोतकाे दावी छ । 

ओली अध्यक्ष, पुलामी र ऐर उपाध्यक्ष तथा शाही महासचिव हुने पक्कापक्की भएको स्रोत बताउँछ । तर पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीकाे संख्या नघटे र सहमति हुन नसके पदाधिकारी र केन्द्रीय सदस्यकाे संख्या बढाएर भए पनि सहमतिकाे टिम बनाउने तयारी भएकाे वाईसेलका प्रतिनिधिहरूकाे दाबी छ । अहिले वाईसीएलमा ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति छन् । वाईसीएलको अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही र नवराज ऐर आकांक्षी छन् । याे सम्मेलनले सम्भवत् आजै पदाधिकारी र केन्द्रीय सदस्यकाे नामावली सार्वजनिक गर्ने तयारी गरेकाे छ । 

थप  केन्द्रको हस्तक्षेपमा बन्धक बन्दै वाईसीएल सम्मेलन, झडप हुने सम्भावना बढ्दो यसमा पढ्नुहाेला ।