विदेश पठाइदिन्छु भन्दै लाखौँ असुल गर्ने २ जना पक्राउ


काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–१ बस्ने रामेछाप मन्थली–३ की ४० वर्षीया प्रमिला बरूवाल र गोंगबु बस्ने पाल्पा माथागढी–४ का ३४ वर्षीय मोहन पोखरेल रहेका छन् ।
प्रमिलाले युके पठाइदिन्छु भन्दै ७ जना पीडितबाट ३२ लाख ३५ हजार रुपैयाँ असुलेकी थिइन् भने मोहनले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जनाबाट १० लाख रुपैयाँ लिएको उजुरी परेको थियो ।
उनीहरू दुवै जना रकम लिएपछि सम्पर्कविहीन भएका थिए। उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले प्रमिलालाई नागार्जुन नगरपालिका–३, हलचोकबाट र मोहनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।