साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको छ: मन्त्री पन्त


कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताएका छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को दोस्रो शिखर सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले आगामी साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको बताए ।
शिक्षा विधेयक पारित गर्न शिक्षक महासङ्घको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पन्तले शिक्षा मन्त्रालय महासङ्घसँग छलफल र वार्ता गरी अगाडि बढ्न तयार रहेको बताए । “उत्कृष्ट शिक्षा ऐन ल्याउन सक्यौँ भने शिक्षा क्षेत्रको विकास दु्रतगतिमा अगाडि बढ्ने विश्वाससहित महासङ्घसँग सहकार्य र समन्वय आवश्यक परेको हो”, उनले भने ।
आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको विकासका लागि यथास्थितिमा बजेट छुट्याइएकाले उल्लेख्य उपलब्धि प्राप्त गर्न केही असहज हुनसक्ने मन्त्री पन्तले धारणा राखे । “विदेशको तुलनामा नेपालमा शिक्षा क्षेत्रमा बजेट कम छुट्याउने गरिन्छ, त्यसले समग्र विकासमा केही बाधा पर्ने देखिन्छ । चालु आवमा जति बजेट थियो, त्यति नै आगामी आवका लागि छुट्याउँदा शिक्षा क्षेत्रको विकास गर्न केही असहज परिस्थिति आउनसक्ने अनुमान गरेका छौँ”, उनले भने ।
शिक्षामा नयाँनयाँ प्रविधि र अभ्यासको प्रयोग विकास हुँदै गएकाले शिक्षक पनि प्रविधिमैत्री हुन जरुरी रहेको बताउँदै मन्त्री पन्तले गुणस्तरीय शिक्षण सिकाइ र व्यावहारिक शिक्षामा जोड दिन उहाँले सम्पूर्ण शिक्षकलाई आग्रह गरे। “प्राथमिक तहमा दरबन्दीभन्दा बढी शिक्षक भएकाले ती शिक्षकलाई निम्नमाध्यमिक र माध्यमिक तहमा समायोजन गर्ने तयारीमा छौँ”, उनले भने ।
शिक्षक महासङ्घसँग भएका नौ बुँदे सहमतिप्रति शिक्षा मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री पन्तले शिक्षा विधेयक पारित गर्न शिक्षकहरूको सहयोगको आवश्यकता औँल्याए ।