Ad Image

कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा छ: शेखर कोइराला

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/koirala.PNG

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा भएको बताएका छन् । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् । 

उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको समेत बताए । उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने बताए । कांग्रेसको भविष्यको प्रतिस्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्ने उनको भनाइ छ ।  

सांसद कोइरालाले भने, ‘अत्यन्तै अप्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन । उग्रवामपन्थीको त कुरै भएन । कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ । त्यो बुझौँ । त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ ।’