Ad Image

म त बालेन सिटीको मान्छे, जुनसुकै होटलमा छिरेर फ्रि’मा पिसाब फेर्ने बानी छ !

User Image बद्री प्रकाश ओझा | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Balen city Urinating.jpg

सिंगापुरमा एउटा कलेज छ, वर्ल्ड ट्वाइलेट कलेज । यो कलेजको नाम पहिलो पटक सुन्दा आश्चर्य नै लाग्यो । पछि सोध खोज गर्दा पत्ता लाग्यो, मानव जीवनमा सरसफाइको महत्वबारे पढाइ हुने रहेछ । खासगरी सरफाइका लागि जनचेतना जगाउन सामाजिक संस्थाका रुपमा यसको स्थापना गरिएको रहेछ । 

ओहो ! कलेज नै खोलेर सिकाउनुपर्ने भो, गुहु धुन ? 

हुन त कोभिडले नै हामीलाई हात धुन सिकायो ।

नेपालमा कृषि अनुदानको प्रभावकारिता अध्ययनका क्रममा देशैभर गइयो । यसक्रममा पुगियो, लमही , दाङ , लुम्बिनीको राजधानी ।

लमही वडा नम्बर ५ मा पर्ने बस पार्क । बस पार्क छेउमा बढेमानको महल । चित्रमा हेर्दा कस्तो मनमोहक छ, हगी ! महलको भुईँ तलामा शौचालय । निर्धक्क प्रयोग गरियो । लाग्ने रहेछ पैसा । बुद्धिसरले भन्दै थिए ।  खुद्रा लिएर जानुहोला । 

म त बालेन सिटीको मान्छे, बालै भएन नी, हाम्रोमा फ्रि पी, अथवा जुनसुकै होटलमा छिरेर पनि पिसाब फेर्न पाइन्छ । 

उनको कुरो अटेर गरें । पछि त फर्किनै पर्यो नि १० रुपैयाँ  माग्न । पिसाब फेरेको १० लाग्ने रहेछ । तिरेर आएर भने, साँच्चै पैसा त लाग्दो नै रहेछ । 

पैसा लिने दाइको बेग्लै गुनासो । ‘महिनाको ८० हजार तिर्नुपर्छ । लिनै पर्यो नि !’ मैले सोधें– कसले लिन्छ पैसा ? उत्तर आयो–, नगर विकासले । ओहो ! त्यसो भए त नगर विकासले खुब दाम कमाउने रहेछ है, दाई ! 

उनले फेरि थपे, ‘कहाँ सबै उसले पाउँछ र ? यता शहरका डनहरुले ठेक्का लिएका छन्, उनीहरुले खाएर बाँकी रहेको नगरमा पुग्छ ।

अझ जिज्ञासा बढ्यो । सोधेँ– ‘त्यसो भए कति पुग्ला त दाई नगरमा ?’ 

‘खै त्यो त कहाँ भन्छन र ? गुपचुपमा हुँदो हो । मैले ८० हजार बुझाउँनुपर्छ’,– उनले जवाफ दिए । असी हजार बुझाएर पनि उनलाई दुई–चार हजार बस्छ रे । सुन्दा महिनाको लाखको पिसाब फेरिँदो रहेछ ।

यस्तै समस्या मैले मोरङको कानेपोखरीमा पनि भागेको थिए । किसन राम नाम गरेका मानिसले पिसाब फेरेबापत १० लिए । मैले सोधेँ– ‘किन पैसा लिएको ?’ 

उनले भने, वर्षमा एक लाख १० हजार बुझाउनुपर्छ ।

म– कसलाई ?

उनी– क्लबलाई !

म– के क्लब ?

उनी– खेलकुद क्लब !

म– क्लबले कसलाई दिन्छ ?

उनी– खै, गाउँपालिकालाई होला, मलाई थाहा छैन ।

म– के गाउँपालिका हो, यो ? 

उनी– कानेपोखरी !

हुन त ट्वाइलेटमा पैसा उठाएको पालिकाको जानकारीमा नहोला नै भन्न सकिएन । बालेनले काठमाडौंका हरेक होटलमा निःशुल्क पिसाब फेर्ने व्यवस्था गरेको विषयलाई सिक्दा के बिग्रन्छ ? 

कमसेकम यात्रीले बिना पैसा पिसाब फेरुन न ! चाहे कानेपोखरीमा होस्, चाहे लमहीमा । अथवा रु २० लिने सिन्धुलीको रातामाटेमा होस् । मेरा साथी बुद्धिसरको अनुभव रहेछ– रातामाटेमा पहिलो

वर्ष पिसाब फेरेको २० ठटाउँथे रे ! बुद्धिनाथ तिम्सिना पेशाले कृषि इन्जिनियर हुन् । हामी सँगै काम गछौं । 

तर यस पटक भने रातामाटेमा पनि १० नै कायम भएछ ।

पिसाब बिक्री हुने विषय हो ।

अमेरिकी अध्ययन अनुसार एउटा स्वस्थ मानिसले दैनिक आठ सय मिलिलिटरदेखि दुई लिटरसम्म पिसाब फेर्छ ।

यदि पिसाबलाई मलका रुपमा प्रयोग गर्ने हो भने हाम्रो जस्तो देशको आर्थिक समुन्नतिमा केही न केही योगदान मिल्छ । हाम्रो यस वर्षको बजेटमा मलका लागि २९ अर्ब विनियोजना गरिएको छ । 

यदि पिसाबलाई मलका रुपमा प्रयोग गर्ने हो प्रस्तावित रकम गरिब बालबालिकाको पढाइमा  खर्च गर्न सकिन्छ । 

स्टकहोम वातावरण अध्ययन संस्थाका अनुसार एकजना मानिसको पिसाबले वर्षमा ३२ देखि ४२ सय वर्गफिट जमिनमा मल पुग्छ । 

कस्तो पिसाब प्रयोग गर्ने, कस्तो नगर्ने, केकेमा पिसाब प्रयोग गर्न सकिन्छ, कुन जनावरको पिसाबमा कति मल हुन्छ, आदि विषयमा छुट्टै चर्चा गरौंला । 

अहिलेलाई यतिमात्र भनौं, पिसामा ९५ प्रतिशत पानी र पाँच प्रतिशत मल हुन्छ । पिसाबमा पाइने मलको अनुपात रसायनिक मलको मात्रासँग ठ्याक्कै मिल्छ । खासगरी पशुको पिसाबले माटोमा पार्ने असरको अध्ययन गरी रसायनिक मल उत्पादन गरिएको हो । 

अध्ययन अनुसार एकजना मानिसले वार्षिक औषत पाँच सय लिटर पिसाब फेर्छ । विश्वको जनसंख्या आठ अर्बभन्दा बढी छ । आठै अर्ब मान्दा पनि पाँच सय लिटरका दरले पिसाब फेर्दा निकै ठूलो परिमाण होला । 

त्यति धेरै पनि हिसाब नगरौं । नेपालकै मात्र हिसाब गर्दा पनि दुई करोड ९० लाख मानिसलाई आधार मान्दा र प्रतिव्यक्ति पाँच सय लिटरका दरले पिसाब फेर्दा पनि वर्षमा एक करोड ४५ लाख मेट्रिक टन  पिसाब फेरिन्छ ।  यसबाट  पाँच प्रतिशत मल निकाल्दा पनि करिव सात लाख टन मल बन्छ । 

यस वर्ष सरकारले ६ लाख टन मल खरीद गर्ने योजना बनाएको छ ।

मलमा खर्च गर्ने पैसा पिसाब संलकनमा गर्दा कसो होला ?

यसो गरे दैनिक यात्रा गर्नेले तिर्नुपर्ने पैसा पनि बचत हुन्छ । 

बरु सार्वजनिक शौचालयमा पिसाब जम्मा गर्ने व्यवस्था गर्ने हो कि?