काठमाडौं महानगरका तत्कालीन इन्जिनियर कोइरीको साढे ४ करोड सम्पत्तिको स्रोत खुलेन
मेयरसाप डेस्क
|
२०८२ जेठ २६ गते ०५:५०
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । साढे ४ करोड सम्पत्तिको स्रोत नखुलेको आरोपसहित सोमवार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले कोइरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले कोइरी काठमाडौं महानगरपालिकामा २०४६ वैशाख १९ गतेदेखि २०७८ फागुन ३० गतेसम्म रहँदाको आय र व्ययको विवरणमा जाँच गरेको थियो । जाँच गर्दा उनको स्रोत खुलेको सम्पत्ति तीन करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ पाइएको थियो । तर कोइरीको खर्च र लगानीमात्रै ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ थियो। कोइरीको चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । स्रोत नखुलेको सम्पत्तिको कोइरीले शंकारहित तवरबाट स्रोत प्रमाणित गर्न समेत नसकेको अख्तियारले जनाएको छ ।
कोइरीको आयको तुलनामा व्यय अमिल्दो देखिएको, कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको दाबीसहित अख्तियारले कोइरीविरुद्ध विेशष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले स्रोत नखुलेको चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी उनलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ।
त्यसैगरी उनले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरेको समेत अख्तियारले आरोप लगाएको छ। झुटा विवरण पेस गरेको भन्दै त्यसमा पनि थप एक महिनादेखि तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरेको छ।
त्यसैगरी स्रोत नखुलेको सम्पत्तिबाट कोइरीकी श्रीमती माला कुमारीको नाममा जग्गा खरिद, सेयर खरिद, घर निर्माण र बैंक मौज्दात समेत रहेको भन्दै अख्तियारले सम्पत्ति जफत गर्नको लागि माला कुमारीलाई समेत प्रतिवादी बनाएको छ।
काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Facebook Comments