Ad Image

गर्मी बढेपछि कञ्चनपुरको बेलौरी नगरपालिकामा २ दिन विद्यालय बन्द

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/school.jpeg

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबार र बुधबार नगरभित्रका विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।

नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनको भनाइ छ ।

गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोको समयमा बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।