Ad Image

प्रधानमन्त्रीद्वारा राजर्षि जनक विश्वविद्यालयका ११४ विद्यार्थी दीक्षित

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za pmo.jpg

जनकपुरधाम । प्रधानमन्त्री केपी  शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई आज दीक्षित गरेका छन् ।

सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा सो विश्वविद्यालयबाट गत तीन वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा उत्कृष्ट हुने चार जना र विभिन्न सङ्काय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १० जना विद्यार्थीहरुलाई पदक समेत प्रदान गरे । 

सो विश्वविधालयमा हाल मानविकी र कानुन, विज्ञान प्रविधि तथा इञ्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन गरी  चार सङ्कायअन्तर्गत १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् ।

देशको पाँचवटा प्रदेशका १९ जिल्लामा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित विभिन्न क्याम्पसहरूमा करिब एक हजार ७०० विद्यार्थी अध्ययनरत छन् । अहिले उक्त विश्वविद्यालयको मातहतमा आङ्गिक पाँच र सम्बन्धन प्राप्त ६९ गरी ७४ वटा क्याम्पस रहेका छन् ।

धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधाममा अवस्थित यस विश्वविद्यालयको स्थापना २०७४ कात्तिक १२ गते भएको थियो । समारोहमा विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो भवन नभएकाले सहज र व्यवस्थित ढङ्गबाट कामकाज गर्न समस्या भएको गुनासो गरे ।

दीक्षान्त समारोहअघि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति  ओलीको अध्यक्षतामा ‘सिनेट’को बैठक  बसेको थियो ।