Ad Image

अमेरिकाको लस एन्जलसमा कर्फ्यु जारी, ११ सय बढी पक्राउ

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/us-protest55.jpg

काठमाडौ । अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यु लगाइएको छ। लस एन्जलसका मेयर करेन बासले स्थानीय समयअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएकी हुन्। 

उनले भनेकी छन्, ‘सहरभरि ‘धेरै क्षति’ भएकाले यो आवश्यक भयो।’ नेशनल गार्ड र मरीन पठाउने ट्रम्पको आलोचना गर्दै लस एन्जलसका मेयर बासले भनिन्, ‘अहिले हामी अन्धकारमा छौं । कहिले के हुने हो हामीलाई थाहा छैन। हामीसँग यो अवस्थाको सामना गर्ने क्षमता छ र हामीलाई सेना वा राष्ट्रिय गार्डको आवश्यकता पर्दैन, विशेष गरी हामीले यसको लागि सोधेका थिएनौं। राष्ट्रपतिले गभर्नरबाट शक्ति खोसेको छ, यो अस्वीकार्य छ।’

यसैबीच प्रदर्शनका क्रममा हालसम्म २ जनाको मृत्यु भइसकेको छ भने आजसम्म ११ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने अमेरिकी नीतिको विरोधमा यी हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।

स्थिति नियन्त्रण गर्न ट्रम्पले मंगलबार ७०० मरीन कमाण्डोसहित ४ हजार नेशनल गार्डलाई लस एन्जलसमा पठाएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा हिंसा जारी रह्यो भने उनले शहरभर विद्रोह कानून लागू गर्न सक्ने चेतावनी दिएका छन्। यो कानूनले हिंसा रोक्न सरकारलाई सैन्य बल प्रयोग गर्न अनुमति दिन्छ।

ट्रम्पले भने, ‘विगत २ दिनदेखि स्थिति नाजुक बन्दै गएको छ, विद्रोह भयो भने अवश्य विद्रोह कानून लागू गर्छु।’ पछिल्लो समय अमेरिकाका सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्कजस्ता शहरहरूमा शान्तिपूर्ण प्रदर्शनहरू सुरु हुन थालेको छ ।  अमेरिकी अध्यागमन एजेन्सीले लस एन्जलसमा अवैध आप्रवासीविरुद्ध छापा मार्न थालेपछि सुरु भएको भएको प्रदर्शन १२ राज्यका २५ शहरमा फैलिएको छ ।