केहीदिन अघिमात्र इजरायललाई चेतावनी दिएका सलामी आज मारिए, को हुन् उनी ?


काठमाडौं । इजरायलले इरानको आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेपछि मध्यपूर्वमा युद्धको बादल मडारिएको छ । गएराति इजरायलले गरेको हवाई आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सका प्रमुख (कमान्डर) होसेन सलामीसहित अन्य सैन्य अधिकारीको मृत्यु भएको छ ।
प्रमुख सलामी इजरायली हमलामा मारिएका सबैभन्दा उच्चपदस्थ अधिकारी हुन् । केही दिन अघिमात्र प्रमुख सलामीले इजरायललाई चेतावनी दिँदै भनेका थिए– इरान कुनै पनि परिस्थितिका लागि पूर्ण रूपमा तयार छ ।
पछिल्लो समय इजरायलसँगको तनाव बढ्दै गएपछि सलामीले बिहीबार इरान कुनै पनि परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए । ‘इजरायली घेराबन्दीमा रहेका रक्षाहीन प्यालेस्टाइनीहरूसँग लडेर इरानसँग लड्न सक्छ भन्ने शत्रुले सोच्दछ,’ उनले भनेका थिए, ‘हामी युद्धमा अनुभवी छौं ।’
तर, उनै सलामीको इजरायली हमलामा आज निधन भएको छ । सलामी पहिलो पटक इरान– इराक युद्धको समयमा १९८० मा रिभोलुसनरी गार्ड्समा भर्ना भएका थिए । जब पद बढुवा हुँदै उनी माथिल्लो दर्जामा पुगे, उनी अमेरिका र यसका सहयोगी देशहरू विरुद्ध कडा बयान बाजीका लागि परिचित थिए ।
सन् २००० को दशकदेखि इरानको आणविक र सैन्य कार्यक्रममा संलग्नता रहेको भन्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद र अमेरिकाले उनीमाथि प्रतिबन्ध लगायो । उनी २०२४ मा रिभोलुसनरी गार्डको प्रमुख थिए । यही समयमा इरानले इजरायलमा पहिलो पटक प्रत्यक्ष सैन्य आक्रमण गरेको थियो ।