Ad Image

कटहरिया नगरपालिकाका मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयरलाई कार्बाही गर्न माग

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news863330..jpg

रौतहट । पत्रकारलाई दुर्व्यवहार गर्ने कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालमाथि कार्बाहीको माग गरिएको छ। पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखा र प्रेस चौतारी नेपाल रौतहट शाखाले आपत्ति जनाउँदै कार्बाहीको माग गरेको हो। 

महासंघका सचिव गौतम श्रेष्ठ र प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पाहाडीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मेयर जयसवालले कटहरिया म्यूजिकल एफएमका समाचार बाचक रबिन्द्र प्रजापतिलाई गाली बेइज्जती र अर्का समाचार बाचक सागर ठाकुरमाथि आक्रमणको घटना प्रती गम्भीर ध्यनाकर्षण भएको उल्लेख गरेको छ।

प्रेस चौतारीले जनप्रतिनिधिबाट यस्तो किसिमको व्यवहार हुनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हमला भएको स्पष्ट पारेको छ । सञ्चार क्षेत्रसंग आबद्ध ठाकुरलाई कुटपिट र प्रजापतिलाई गाली गर्नु स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन विज्ञप्ति मार्फत आग्रह गरिएको छ।

के हो घटना ?

कटहरिया ५ स्थित खानेपानी आयोजनामा पछिल्लो केही दिनदेखि समस्या भएर पानी सप्लाई बन्द भएको छ। सोही समस्या बारे  समाचार बाचक रविन्द्र प्रजापतिले सामाजिक सञ्जाल फेसबुकमा बिहीवार एउटा स्टाटस लेखेका थिए।

सोही स्टाटसमा अर्का समाचार ठाकुरले मेयर अजय प्रकाश जयसवालप्रति कडा टिप्पणी गरेका थिए। म्यूजिकल एफएमका प्रमुख तथा मेयर जैसवालका प्रेस सल्लाहकार प्रकाश श्रेष्ठका अनुसार सोही स्टेट्सको विषयमा कुरा गर्न मेयर जैसवालले दुवैजना प्रजापति र ठाकुरलाई श्रेष्ठकै घरमा बिहीवार बेलुका बोलाएका थिए।


घरमा बसेर छलफल भइरहेको समयमा आफ्नो समर्थकसहित पुगेका मेयर जैसवालले ठाकुरलाई दुर्व्यवहार तथा हातपात गरेको प्रेस सल्लाहकार श्रेष्ठले जानकारी दिएका छन्। 

चोटपटक लागेका ठाकुरको अहिले वीरगंजस्थित एक अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिएका छन्। त्यस अघि मेयर जैसवालले प्रजापतिलाई फोन गरेर गालिगलौज गरेका थिए। मेयरले जैसवाललार्य गालि गरेको अडियो सामाजिक सञ्जाल फेसबुकमा बाहिरिएको छ।