४ जना न्यायाधीश उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौं । न्याय परिषद्ले चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। आज बसेको न्याय परिषदले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गर्ने सिफारिस गर्ने निर्णय भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवरलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश, उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीशमा र उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश पदमा नियुक्त गर्न सिफारिस गरेको हो।