कार्यस्थलमा हाजिर भए काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार पुनः कार्यस्थलमा फर्किएका छन् ।
पाटन उच्च अदालतले उनलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि पाण्डे कार्यालयमा नियमित कामकाजका लागि हाजिर भएका हुन् ।
न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले बुधबार दिएको आदेशमा अन्तिम फैसलासम्म पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीमा नै काम गर्न दिन भनिएको छ ।
यससँगै बिहीबार बिहान पाण्डे महानगर प्रहरी बलको कार्यालय पुगेका थिए । उनले नियमित कार्यभार सम्हालेका छन् । अदालतको आदेशले उनलाई पुनः जिम्मेवारीमा फर्किन कानुनी आधार तयार गरिदिएको हो ।