पर्वतको जलजलामा नहर निर्माण गरी बाढी नियन्त्रण

User Image मेयरसाप डेस्क | २ महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nahar t.jpg

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यान बस्तीलाई बाढी र पहिरोबाट जोगाउन नयाँ नहर निर्माण गरी जोखिम कम गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढीपहिरोले हरेक वर्ष क्षति पु्र्याउने समस्या बढेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको हो ।

स्थानीय रुद्रलाल उपाध्यायका अनुसार गाउँमाथिको नाथिमारे डाँडाबाट खस्ने बुढीकुलो बाढीले सल्यानको बस्तीलाई जोखिममा पारेपछि यस नहर निर्माण गरिएको हो । वर्षायाममा त्रासका कारण स्थानीयहरूलाई असुविधा हुने समस्यालाई हटाउन नहर बनाइएको दुर्गा पौडेलले बताइन् ।

ठोट्नेरी, धारापानी, गुन्टेखेत हुँदै बग्ने बुढीकुलोका कारण सल्यान गाउँ बाढीपहिरोको उच्च जोखिममा परेकोले गाउँपालिकाले यस आर्थिक वर्षमा रु ३५ लाख २० हजार लागतमा तीन सय ५० मिटर लामो पक्की नहर निर्माण योजना सञ्चालन गरेको छ ।

जलजलाका इञ्जिनियर सुनिल बानियाँका अनुसार, गत माघ ७ गते जेठ मसान्तभित्र निर्माण सम्पन्न गरी उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो । बाढी नियन्त्रण योजना अन्तर्गत गुन्टेखेतमा कुलो निर्माण गरी बाढीलाई लुङ्दी खोलामा खसाल्ने व्यवस्था मिलाइएको छ ।

बूढीकुलो बाढी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष गङ्गाधर आचार्यले भने, “गाउँमाथिबाट आउने पानीलाई वैकल्पिक नहरमार्फत लुङ्दी खोलामा झिकेर बस्तीको जोखिम कम गरिएको छ ।”

गत वर्ष बूढीकुलो बाढीले नाथिमारेबाट खसेको पहिरोले सल्यानको भिरकुना र गगनपानी क्षेत्रमा घर र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको थियो । स्थानीय रुद्रलाल उपाध्यायलगायतका दर्जनौं किसानका एक सय मुरी धान फल्ने खेत पुरिएको थियो भने चार घर उच्च जोखिममा परेका थिए ।

निर्माणाधीन मिलनचोक–सल्यान–गुन्टेखेत–घायखेत–धारापानी–ठोटनेरी सडक आयोजनाका कारण जमेको पानी बुढीकुलोमा जम्मा भएर सल्यानमाथिको डाँडाबाट बस्तीमा खस्दा जोखिम बढेपछि वैकल्पिक नहर निर्माण गरिएको जलजलाका वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए ।

उनले बाढी नियन्त्रणका लागि कुलो निर्माणले जोखिम कम हुने विश्वास व्यक्त गरे । यसले स्थानीय बस्ती र खेतीपातीलाई बाढी र पहिरोबाट सुरक्षित राख्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।


Facebook Comments