ललितपुर महानगरले एसईईमा ३.९५ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीलाई २ लाख नगद दिने


काठमाडौं । ललितपुर महानगरपालिकाले एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट नम्बर ल्याउने सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्रालाई महानगरले नगदसहित सम्मान गर्न लागेको हो । सामुदायिक विद्यालयबाट एसईईमा ३.९५ भन्दा माथि जीपीए ल्याउनेलाई प्रति विद्यार्थी २ लाख र विद्यालयलाई ४ लाख दिने महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईले जानकारी दिए ।
यसैगरी संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउनेले प्रति विद्यार्थी २ लाख पाउनेछन् । पुरस्कार वितरण कार्यक्रम साउन महिनामा आयोजना गर्ने तयारी भइरहेको र अहिले मिति भने तय भइनसकेको गुरागाईँले बताए । ‘हामी जहिले पनि साउनमै गर्छौं, अभिभावक, सम्बन्धित विद्यालयको प्रिन्सिपलहरू सबै राखेर भव्य रुपले गर्छौं,’ उनले भने ‘यो बीचमा हामीलाई पनि बजेटको कामले गर्दा फुर्सद हुँदैन ।’
अहिले स्कुलहरूले विवरण पठाउने क्रम जारी रहेको र पछि फाइनल गरेपछि स्कुलसँगको समन्वयमा मिति तय गरिने उनले बताए । उनका अनुसार ललितपुर महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालयबाट कुल ८२ जनाले ३.९५ माथि जीपीए ल्याएका छन् । सामुदायिक विद्यालयबाट ३.९५ जीपीए ल्याउने ८ जना रहेका छन् भने संस्थागतर्फ ४ जीपीए ल्याउने ७४ जना रहेका छन् ।